• ११ असोज २०८१, शुक्रबार

नातिनी स्कुल पुर्‍याउँदा हजुरआमा पनि विद्यार्थी

blog

राजकुमार भट्टराई 

खोटाङ, असोज ६ गते । पढाइलाई उमेरले छेक्दैन भन्ने भनाइलाई खोटाङका धनकुमारी राई र पुजान दर्जीले पुष्टि गर्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ७८ वर्षीय धनकुमारी राई र ५२ वर्षीय पुजान दर्जी अहिले नातिनीहरूसँगै विद्यालयमा पढ्न सुरु गर्नुभएको छ । 

धनकुमारी र पुजान आफ्ना नातिनी पढिरहेको सरस्वती माध्यमिक विद्यालय पाथेकामा कक्षा १ मा भर्ना हुनुभएको छ । असोज २ गते विद्यालयमा भर्ना हुनुभएका उहाँहरू अहिले नियमित विद्यालय गएर पढिरहनुभएको सरस्वती माविका प्रधानाध्यापक उत्रप्रसाद राईले बताउनुभयो ।  

धनकुमारीकी नातिनी परिसा राई र पुजानकी नातिनी स्नेहा दर्जी सोही मावि भवनमा रहेको बालविकास केन्द्रमा पढ्नुहुन्छ । हजुरआमाहरू आआफ्ना नातिनीलाई डोहोर्‍याउँदै उक्त बालविकास केन्द्रमा पुग्नुहुन्थ्यो र छुट्टी भएपछि उसैगरी नातिनीसँग घर फर्किनुहुन्थ्यो । यसरी एकै भवनमा रहेको बालविकास केन्द्रमा आउने जाने गरेको दुई महिना बितिसकेको थियो । दिनभर उक्त केन्द्रमा बसेर समय बिताइरहेका हजुरआमाहरूलाई विद्यालयका शिक्षिकाले भर्ना भएर पढ्न सुझाव दिए । त्यही सुझावमा राजी हुँदै धनकुमारी र पुजान सोही विद्यालयको कक्षा १ मा भर्ना हुनुभएको हो । अहिले दुवै हजुरआमा कापी कलम च्यापेर नातिनीसँगै स्कुल जान सुरु गर्नुभएको छ । भर्ना भएकै मितिबाट धनकुमारी र पुजानलाई दिवा खाजा दिन सुरु गरिएको प्रधानाध्यापक राईले बताउनुभयो । 

धनकुमारी र पुजान नागरिकता बोकेर भर्ना हुन विद्यालय पुग्नुभएको थियो । नागरिकतामा धनकुमारीको जन्ममिति २००३ कात्तिक १७ गते र पुजानको २०२९ कात्तिक २० गते उल्लेख छ । उमेर ढल्किए पनि धनकुमारी सहजै हिँडडुल गर्न सक्नुहुन्छ । कान राम्ररी सुन्नुहुन्छ । हालसम्म चस्मा लगाउनुभएको छैन । बाल्यकालमा पढ्न नपाएको रहर अहिले पूरा गर्न लागेको पुजान बताउनुहुन्छ । “नपढेका कारण केही ठाउँमा धोका पाइयो, केही ठाउँमा गाली खाइयो,” पुजानले भन्नुभयो, “त्यही भएर पढ्ने रहर छ । केही जानियो, केही बुझियो भने कसैले घोच्न पेल्न सक्दैन भन्ने धारणा छ ।” 

यस्तै अक्षर र अङ्क जान्ने मनसहित स्कुल जान थालेको धनकुमारी बताउनुहुन्छ । प्रधानाध्यापक राईका अनुसार हजुरआमाहरू नै स्कुल जान थालेपछि अरूका लागि प्रेरणा मिलेको छ । २०१७ सालमा स्थापना गरिएको सरस्वती माविमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सो माविमा गत भदौ ६ गतेदेखि चन्दा उठाएर कक्षा ११ को पठनपाठन पनि सुरु गरिएको छ ।