• ११ असोज २०८१, शुक्रबार

बिपी राजमार्गले रोड कनेक्टिभिटी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने : सभापति देउवा

blog

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरेको बिपी कोइरालाको प्रतिमा अनावरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना
बनेपा, असोज ५ गते ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६ जरणडाँडामा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक (प्रतिमा) स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नुभएको छ ।

काठमाडौँलाई तराईका जिल्लाहरुसँग जोड्ने छोटो दूरीको राजमार्गको रुपमा रहेको बिपी राजमार्गको प्रस्थान बिन्दु रहेको धुलिखेलमा करिब नौ वर्ष पहिले तत्कालीन पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले बिपीको प्रतिमाको शिलान्यास गर्नुभएको थियो ।

नौ वर्षपहिले बिपी कोइरालाको सालिक निर्माण सुरु गरिए पनि तत्कालीन जिल्ला पार्टी नेतृत्वका कारण सालिक निर्माणमा ढिलाई भएको बिपी कोइराला प्रतिमा निर्माण मुल समितिका संयोजक जीतकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहयोगमा करिब १५ लाख रुपियाँको लागतमा बिपीको प्रतिमा निर्माण गरिएको बताउनुभयो ।

वि.सं. २०१६ सालमा तराई र पूर्वी जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्गको रुपमा बिपीले अहिलेको बिपी राजमार्गको परिकल्पना गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति देउवाले बिपी राजमार्गले रोड कनेक्टिभिटी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले बिपी राजमार्गमा बिपीको सालिक निर्माण हुनु कांग्रेस र आम नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले इतिहास भजाएर देश विकास नहुने भन्दै जनताको समस्या पहिचान गरेर काम गर्न सरकार र पार्टीका नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता तथा विपी पुत्र डा. सशाङक कोइरालाले शिक्षा, बाटो, सञ्चारको विकास कांग्रेसको विचार र नेतृत्वबाट मात्रै भएको बताउनुभयो । उहाँले कांग्रेसका नेता कार्यकर्ताहरुले बिपीको विचार, आदर्श र उहाँले देखाएको बाटोमा हिँड्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, मधु आचार्य, गणेश लामा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादे, जिल्ला सभापति तिर्था लामालगायतले बिपीको विचार, उहाँले अघि सारेका सिद्धान्तको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।