• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्छ : खतिवडा

blog

ओखलढुङ्गाका प्रतिनिधि सभा सदस्य एवम् संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा

काठमाडौँ, असोज ५ गते।  ओखलढुङ्गाका प्रतिनिधि सभा सदस्य एवम् संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्नुपर्ने बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ मा कुराकानी गर्नुहुँदै यस्तो बताउनुभएको हो।

सभापति खतिवडाले भन्नुभयो, ‘‘संविधान संशोधन भनेको पाएका अधिकार घटाउने वा कटाउने होइन, यिनलाई अझ वृहत् बनाउने हो, निर्वाचन पद्धतिका बारेमा थरी थरीका कुरा आएका छन्, हाम्रो निर्वाचन प्रणाली मिश्रित प्रणाली हो । प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्षबाट गरिदिने, दलित, महिला, जनजाति सबै त्यहीँ बाट प्रतिनिधित्व हुन्छ । त्यसका लागि कुन निर्वाचन क्षेत्रमा कसले प्रतिस्पर्धा गर्ने भन्ने निश्चित हुन्छ । यसैगरी, राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाऔँ, त्यहाँ सबै दलित, महिला, जनजातिलगायत सबैको प्रतिनिधि होस । राष्ट्रिय सभाबाट प्रधानमन्त्री हुने व्यवस्था छैन, त्यहाँबाट पनि प्रधानमन्त्री बनाइदिने व्यवस्था गरौँ, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भने गरौँ भन्ने हो । पाएका अधिकार कटौती गर्न संविधान संशोधन भनिएको होइन ।’’

उहाँको भनाइ छ–जनताबाट चुन्ने पद्धति नै सबैभन्दा राम्रो पद्धति हो, मेरो भनाइ के छ भने संविधान जारी भएको नौ वर्ष पूरा भएको छ, संविधान संशोधन गर्ने भनेको महिला, दलित, जनजाति मधेसका अधिकारी कटौती गर्ने भनेको होइन, अझ वृहत् बनाऔँ, कहाँ कहाँ कमी छ, त्यसलाई अझ अगाडि बढौँ भन्ने हो । 

राज्य व्यवस्था समितिले अख्तियारका काम कारबाही पनि हेर्दै आएको छ, त्यस विषयमा राखिएको जिज्ञासामा सभापति खतिवडा भन्नुहुन्छ, ‘‘अख्तियार पनि आफ्नो बुताले इमान्दारकासाथ काम गरिरहेको होला । के भन्ने चलन छ भने ठुला मुद्दामा ध्यान नै नदिने र साना-साना मुद्दामा अख्तियार लाग्यो । साना कर्मचारी मुखिया, खरदार, हल्बलदार प्रहरीलाई मात्रै पक्रियो, माथिल्लो तहका लेबलका राजनीतिज्ञ नहुने, जस्तै टेरामक्स उदाहरण छ । त्यसमा माथिल्लै लेबलको मुछियो कि ? एनसेलको कुरा आउँछ, त्यसमा माथिल्लो लेबलकै मुछिएको छ, माथिल्लो लेबलसँग अख्तियार डरायो कि भन्ने पनि आएको छ, हामीलाई विश्वास छ, अख्तियार संवैधानिक आयोग भएकाले खुट्टा कमाउँदैन ।’’ 

ओखलढुङ्गा जिल्लाको जनप्रतिनिधि भएकाले जिल्लाको विकास प्रयासमा अग्रसर रहेको र महत्त्वपूर्ण योजनाहरू सञ्चालनमा आएका र केही आउने क्रममा रहेको भनाइ पनि सांसद खतिवडाको छ । 

खतिवडाको जन्म जीवनाथ र यशोदा खतिवडाको कोखमा २०२६ साल पुस २४ गते ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाको थाक्लेमा भएको हो। उहाँ अहिले काठमाडौँ महानगरपालिकाको ३२ वडाको घट्टेकुलोमा बस्नुहुन्छ।  राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका खतिवडाले कानुनको समेत अध्ययन गर्नुभएको छ।  २०३६ सालमा बहुदलको पक्षमा सक्रिय खतिवडा औपचारिक रूपमा २०४२ सालपछि राजनीतिमा संलग्न हुनुभएको हो। 

२०४५ सालमा नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सदस्य बन्नुभएका खतिवडा २०७० सालमा संविधान सभा सदस्य निर्वाचित हुनुभयो।  उहाँ २०७० सालमा संसद्को सार्वजनिक लेखा समिति सदस्य बन्नुभयो। त्यतिबेला बेरुजु फर्छ्यौट उपसमिति संयोजक बनेर काम गर्नुभएका खतिवडा २०७८ मा नेपाली कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।  उहाँ अहिले संसद्को राज्य व्यवस्था सुशासन समितिको सभापति हुनुहुन्छ।  

प्रस्तुत छ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य, ओखलढुंगाका प्रतिनिधि सभा सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा गरिएको कुराकानीका आधारमा नारद गौतम, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो कुराकानीः 

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।