काठमाडौँ, फागुन १३ गते । ‘स्मार्ट गोरखापत्र’ अभियान अन्तर्गत डिजिटल प्रविधिको उपयोग गर्दै गोरखापत्र संस्थानले आफ्नो समाचार सेवा थप चुस्त, सुलभ र प्रवाहमय बनाएको छ । नेपाली, अङ्ग्रेजी तथा नेपालमा बोलिने ४५ भाषामा सामग्री प्रकाशन, अनलाइन पोर्टलको विस्तार, मल्टिमिडिया सामग्री उत्पादन र सामाजिक सञ्जालको प्रभावकारी उपयोगलाई समयानुकूल बनाएको हो ।
गोरखापत्र प्रकाशनको ९५ वर्षपछि इन्टरनेट प्रविधिले प्रवेश पायो । डिजिटल प्रणालीमा प्रवेश गरेको आज २७ वर्ष पूरा गरेर २८ वर्ष लागेको छ । विसं. १९५८ वैशाख २४ गते साप्ताहिक रूपमा प्रकाशित नेपालको पहिलो सञ्चार माध्यम हो– गोरखापत्र । नेपालको जेठो र सबैभन्दा ठुलो प्रकाशन गृह भएकाले पनि गोरखापत्रले प्रविधि भित्र्याउन कन्जुस्याइँ गरेन ।
अङ्ग्रेजी भाषाको ठुलो आकारको पहिलो दैनिक अखबार ‘दी राइजिङ नेपाल’ मा प्रकाशित समाचार २०५३ फागुन १२ गते सन् (१९९७ फेब्रुअरी २३) आइतबारबाट डिजिटलमा पहिलो पटक उदाए ।
दी राइजिङ नेपालको सामग्रीलाई इन्टरनेटमा राखेर संस्थानले एचटिएमएल डिजिटल प्रविधिमा आफ्नो उपस्थिति देखाउन थालेको हो । त्यसलाई मर्कन्टाइल कम्युनिकेसनले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
मर्कन्टाइल कम्युनिकेसनका विनय श्रेष्ठका अनुसार विसं. २०५६ फागुन २१ (२००० मार्च ४) मा नेपाल न्युज डटकममा गोरखापत्र, दी राइजिङ नेपालसहितका समाचारलाई वेबमा प्रकाशन गर्न थालियो । मर्कन्टाइलले ती सामग्री निःशुल्क रूपमा प्रकाशन गरेको थियो । सन् २००० सम्ममा कुनै मिडियाका आफ्नै वेबसाइट नभएको श्रेष्ठको भनाइ छ ।
विसं. २०५९ वैशाख २४ गते मङ्गलबारदेखि गोरखापत्रले आफ्नै नामको डोमेन ‘डब्लुडब्लुडब्लुडटगोरखापत्र डटओआरजिडटएनपीबाट आफ्ना सामग्रीलाई प्रकाशन गर्न सुरु गर्यो । त्यसको १० वर्षपछि विसं. २०६९ मङ्सिर (सन् २०१२ डिसेम्बर) देखि नयाँ डोमेन नाम बाट समाचार प्रकाशन हुन थाले । अनलाइन प्रकाशनलाई दर्ता गर्ने सरकारको नीति आएसँगै विसं. २०७६ साल भदौ २४ गते सूचना विभागमा (१५३८/०७६/७७) दर्ता भई गोरखापत्र अनलाइन सञ्चालनमा छ ।
संस्थानमा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले नेतृत्व सम्हाल्नुभएपछि २०७९ वैशाख १ गतेबाट संस्थानका छापा प्रकाशन गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, मधुपर्क, युवामञ्च र मुना नयाँ साजसज्जामा प्रस्तुत भए । त्यसका साथै गोरखापत्र अनलाइन र राइजिङडेली डटकमको साइटलाई परिष्कृत र विकास गरी अझ पाठकमैत्री बनाइयो । गोरखापत्र अनलाइनमा गोरखापत्र दैनिक, मधुपर्क, युवामञ्च र मुनाका सामग्री र गोरखापत्र अनलाइन उत्पादनका समाचार सामग्रीका साथै छापा माध्यमका पिडिएफ पृष्ठहरू तथा ४५ भाषाका पिडिएफ प्रकाशन हुँदै आएका छन् ।
अङ्ग्रेजी भाषाका समाचार सामग्री प्रकाशन गर्न राइजिङ नेपालको छुट्टै वेबसाइट सञ्चालनमा छ । यसमा दी राइजिङ नेपाल डेली र राइजिङ नेपाल अनलाइनले उत्पादन गरेका समाचार सामग्री प्रकाशित हुन्छन् । गोरखापत्र र दी राइजिङ नेपालका पिडिएफ संस्करणहरू विसं. २०६६ माघ २ गतेदेखि वेबमा प्रकाशन भएका हुन् । गोरखापत्रले डिजिटल प्रविधिको प्रयोग गर्दै आफ्ना छापा संस्करणलाई पिडिएफमार्फत डिजिटलमा देश विदेशमा रहेका पाठकलाई उपलब्ध गराउन सुरु गरेको हो ।
त्यसै गरी गोरखापत्र संस्थानका मासिक प्रकाशन मधुपर्क, युवामञ्च र मुनाका पिडिएफ संस्करण विसं. २०६८ माघ १ गतेदेखि प्रकाशन सुरु भए । छापा संस्करणलाई डिजिटल संस्करणमा प्रकाशन सुरु भएसँगै भौगोलिक सीमा भङ्ग भई विश्वव्यापी पाठकमा पहुँच बढ्यो । यस्तै बहुभाषिक पत्रकारिताको अभ्यास गर्दै आएको गोरखापत्र दैनिकमा ‘नयाँ नेपाल पृष्ठ’ मा प्रकाशित पृष्ठले पनि विसं. २०६९ माघदेखि विद्युतीय अवतार ग्रहण गरे । यसले विभिन्न भाषिक समुदायको पहुँच अभिवृद्धिमा ठुलो योगदान पुग्यो ।
विसं. २०७७ सम्म आइपुग्दा नेपालमा बोलिने विभिन्न ४३ वटा मातृभाषाका समाचार सामग्री गोरखापत्रमा प्रकाशन गरेर त्यसको पिडिएफमा प्रकाशन गर्न थालियो । विसं. २०८१ पुस ५ गते शुक्रबार वाम्बुले राई भाषाको पृष्ठ प्रकाशन गरेपछि भाषाको सङ्ख्या ४५ पुगेको छ । यी सबै भाषामा प्रकाशित सामग्रीको पिडिएफ गोरखापत्र अनलाइनमा प्रकाशन हुन्छन् । यी पिडिएफको लिङ्क गोरखापत्र अनलाइन, गोरखापत्रको फेसबुक पृष्ठ र ट्विटर (एक्स) मा राखिन्छ, जसले गर्दा सामाजिक मिडियामार्फत पनि पाठकले आफ्नो रोजेको समयमा पढ्न पाउने भए ।
स्मार्ट गोरखापत्र अभियान
पुराना पत्रिकालाई डिजिटाइजेसन गर्न संस्थानमै अर्काइभिङ स्टुडियो निर्माणदेखि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन भएकाले विद्युतीय अभिलेखीकरणको कार्यले गति लिएको छ । २०७९ जेठ १२ गते बिहीबार गोरखापत्र संस्थानका प्रकाशनलाई डिजिटाइजेसन गर्न गोरखापत्र संस्थान र राष्ट्रिय अभिलेखालयबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसै गरी आफ्नो डिजिटल यात्रालाई अझ पाठकमैत्री र विश्वव्यापी पहुँच विस्तार गर्ने क्रममा विसं. २०७५ फागुन १७ गते मोबाइल एप्लिकेसन अनुप्रयोग (याप) सञ्चालनमा ल्यायो र २०८० मा थप विकसित गरियो, जसले गर्दा मोबाइलबाट समाचार हेर्ने पाठकलाई अझ सजिलो बनायो ।
स्मार्ट गोरखापत्र अभियानको सुरुवातले गोरखापत्रलाई एक बहुआयामिक डिजिटल प्लेटफर्मका रूपमा स्थापित गर्यो । गोरखापत्रले सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर, युट्युब) को सक्रिय प्रयोग सुरु गरेको छ । गोरखापत्रको युट्युब च्यानलमा ‘सांसदलाई संवाद’ २०८१ साउन १२ गते शनिबारबाट सुरु गर्यो । ‘सांसदलाई सवाल’ गोरखापत्रको संस्थागत पहिलो भिडियो शृङ्खला हो । हालसम्म ३१ जना सङ्घीय सांसदको भिडियो प्रसारण भएका छन् ।
डिजिटल स्टुडियो निर्माण
विसं. २०७९ मा भिडियो सामग्री सम्पादन गर्न सक्ने कम्प्युटर ‘एडिटिङ डेक्स’ उपलब्ध भएपछि मल्टिमिडिया युनिटको स्थापना भई संस्थानको भवनबाटै भिडियो सम्पादन सुरु भयो । डिजिटल प्लेटफर्मलाई सशक्त बनाउने योजना अन्तर्गत सञ्चार उपकरणहरू उपलब्ध हुन थाले ।