• १० पुस २०८१, बुधबार

ब्याजदर नबढ्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २९ गते । नेपाल बैङ्कर्स एसोसिएसनले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले आपसी सहमति गरेर स्थिर राख्दै आएका छन् । बैङ्कले गत फागुनदेखि नै निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत कायम गरेका छन् । त्यसैगरी विकास बैङ्कहरूले ११.५५ र फाइनान्स कम्पनीले ११.७१ कायम नै राखेका छन् ।

जेठ महिनाका लागि पनि ब्याजदर नबढाउन उपयुक्त हुने प्रस्ताव गरेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो । एसोसिएसनले गरेको प्रस्तावमा बैङ्कहरू सहमत भएको भन्दै उहाँले ब्याजदर बढाएर पनि निक्षेप नबढेको निष्कर्ष निकाल्दै प्रस्तावमा बैङ्कर सहमत भएको बताउनुभयो । बैङ्कहरूका नयाँ निक्षेप नआएकाले कर्जा बढ्ने अवस्था पनि नभएपछि एसोसिएसनले सबैको हितका लागि ब्याजदर यथावत् नै राखेको हो ।

केही दिनअघि नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने भन्दै ब्याजदर वद्धिको सामनाका लागि तयार रहन पनि आग्रह गर्नुभएको थियो । अझै पनि प्रणालीमा तरलता अभाव भएको भन्दै उहाँले अझै ब्याजदर बढ्ने देखिएकाले त्यसका लागि सबै तयार हुन आग्रह गर्नुभएको थियो ।

बैङ्क तथा वित्तीय संस्थामा सातामा दुई दिन बिदा

सरकारले जेठदेखि लागू हुनेगरी गरेको सातामा दुई दिन बिदा दिने व्यवस्था बैङ्क तथा वित्तीय संस्थाले पनि लागू गर्ने भएका छन् । यो व्यवस्थाअनुसार जेठ १ देखि साढे बिहान ९ बजेदेखि नै बैङ्क खुल्ने भएका छन् भने सातामा दुई दिन बिदा हुने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गर्दै सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा हुने र बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान ९ः३० देखि ३ः३० बजेसम्म बैङ्किङ कार्यलय समय तोकिएको राष्ट्र बैङ्कले जनाएको छ । दशैँ तिहारको सार्वजनिक बिदाबाहेक अन्य बिदा दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सीमित कर्मचारी खटाएर बैङ्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ ।