• ११ असोज २०८१, शुक्रबार

काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य : मुख्यमन्त्री आचार्य

blog

चेतनारायण आचार्य मुख्यमन्त्री, लुम्बिनी प्रदेश

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  दिनुभएको शुभकामना यस प्रकार छ :   

प्रदेश संरचना शून्यबाट अगाडि बढेर देखिने, अनुभव गरिने र उपलब्धि दिने अवस्थामा छन् । पहिलो कार्यकालको पाँच वर्ष आधार निर्माणका लागि सदुपयोग भयो । हाल प्रदेश तहमा आफ्नै संरचना धेरै निर्माण भएका छन् । 

सङ्घीयताको कार्यान्वयनपछि विकासका योजना माग्न नागरिकले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । विकासका केही योजना छन् भने नागरिक प्रदेशको राजधानी नै आउँछन् । यो नेपालको संविधानको उपलब्धि हो । प्रदेश सरकारले सम्पादन गरेका कामबाट नागरिक सन्तुष्ट हुने आधार पनि बन्दै गएको छ । प्रदेश सभाको अघिल्लो कार्यकालमा ७२ वटा कानुन निर्माण भएको र हालको प्रदेश सभाबाट पनि प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐनलगायतका ऐन पारित भएका छन् । कतिपय छलफलका लागि सदनमा रहेका छन् । 

कानुन निर्माण र त्यसको कार्यान्वयन, विकास, सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागु गर्ने जस्ता कामले यस प्रदेशका जनतामा आशा जगाएको छ । आर्थिक वर्ष २०७५/७६ मा बहुआयामिक गरिबीको दर ३० प्रतिशत रहेकोमा हाल १८ प्रतिशतमा झरेको छ । यस अवधिमा बेरोजगारीदर ११ प्रतिशतबाट घटेर आठ प्रतिशत, पाँच वर्षमुनिका बालमृत्युदर प्रतिहजार ४५ रहेकोमा ३३ र शिशु मृत्युदर प्रतिहजार ३० रहेकोमा हाल २१ मा झरेको छ । 

माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ७५ प्रतिशतबाट बढेर ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ । प्रदेश ऐनबमोजिम लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भई सञ्चालन भइरहेको छ । बाह्रै महिना सिँचाइको सुविधा पुगेको भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेश माछामासु र दुध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत पठाउन सक्षम भएको छ । 

२०७५ सालमा सडकको लम्बाइ ११ हजार २३३ किलोमिटर रहेकोमा हाल १५ हजार ७६ पुगेको छ । १०९ मध्ये १०८ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको छ । विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएको घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको छ । यी उपलब्धि नेपालको संविधान बनेपछि प्रदेशले हासिल गरेका हुन् । महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकासलगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएका छन् ।  प्रदेश संरचना शून्यबाट अगाडि बढेर देखिने, अनुभव गरिने र उपलब्धि दिने अवस्थामा छन् । पहिलो कार्यकालको पाँच वर्ष आधार निर्माणका लागि सदुपयोग भयो । हाल प्रदेश तहमा आफ्नै संरचना धेरै निर्माण भएका छन् । 

प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमार्फत कर्मचारीको विज्ञापन खोल्न लागेको छ । अब प्रदेश सरकारले जनशक्तिको अभाव भोग्न पर्दैन । प्रादेशिक अस्पतालको सेवालाई विशेषज्ञ सेवाका रूपमा विकास गरेका छौँ । लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै ठुलो अस्पतालका रूपमा निर्माणका लागि भवन निर्माणको काम अगाडि बढिसकेको छ । यो सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण उपलब्धि हो । आव २०८१/८२ मा अधुरा आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ । 

प्रहरी ऐन समायोजन, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँट साथै वित्तीय हस्तान्तरण जस्ता कार्य अगाडि बढाउनका लागि सङ्घमा प्रभावकारी पहल गरिएको छ । प्रदेश सरकारले प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले पाँच वटा गौरवका आयोजनामध्ये चार वटा आयोजनालाई कार्यान्वयनमा लगेको छ । गौरवको आयोजनाभित्र रहेको लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको आयोजना पनि तीव्र रूपमा अगाडि बढेको छ । आगामी एक वर्षभित्र नयाँ भवनबाट सेवा प्रवाह सुरु हुने छ । मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालयको भवन बनाउने कामले गति लिएको छ । हामी निर्धारित समयमा यो कामलाई सम्पन्न गर्दै छौँ । प्रदेश सरकारले निर्माण गरेको पहिलो पञ्चवर्षीय योजनाको कार्यान्वयन अवधि सकिएको छ । अब दोस्रो पञ्चवर्षीय योजना निर्माणको कामलाई अन्तिम रूप दिन लागेका छौँ । 


प्रस्तुति : लक्ष्मण पौडेल