• ११ असोज २०८१, शुक्रबार

कांग्रेसको सयदिने विशेष साङ्गठनिक अभियान सुरु

blog

गोरखापत्र समाचारदाता

ललितपुर, असोज ३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा भएको लगानीका सन्दर्भमा अध्ययनसहित निष्कर्ष दिएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक सयदिने विशेष साङ्गठनिक अभियानको बुधबार उद्घाटन गर्दै सभापति देउवाले संसदीय समिति गठन गर्न कांग्रेसले सदनमा राखेको माग जायज ठहरिएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “रवि लामिछाने चलाख मान्छे हुनुहुँदोरहेछ । मलाई त छक्कै पार्दिए नि ! सहकारीसम्बन्धी विषयमा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेरै भन्नुभएको रहेछ । तपाईंलाई धेरै धन्यवाद !” उहाँले अभियानमा कांग्रेसको साङ्गठनिक संरचनालाई अझै सुदृढ बनाउन निर्देशन दिनुभयो । उहाँले पार्टीमा रहेको झगडा स्वाभाविक रहेको बताउँदै यसमा समाधानमा लाग्न निर्देशन दिनुभयो ।  

कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारीमा बसेर ठगी गर्ने पनि दोषी र सहकारीको बचत रकम कम्पनीमा ल्याउने पनि दोषी नै ठहरिने बताउनुभयो । उहाँले सहकारीमा बसेरभन्दा सहकारीबाहिर बसेर ठगी गर्नेको सङ्ख्या धेरै रहेको बताउनुभयो । उहाँले गोर्खा मिडिया प्रालिबारे संसदीय विशेष छानबिन समितिले छानबिन गर्नुपर्ने कारण पनि प्रस्ट पार्नुभयो । उहाँले दर्जनौँ सहकारीमा अपचलन भएको, दर्जनौँ सहकारी ठगिएको र दर्जनौँ मानिसले ठगेको दृष्टान्त प्रस्तुत गर्नुभयो । 

उहाँले भन्नुभयो, “तर गोर्खा मिडियाको सञ्चालक आफैँ गृह मन्त्रालयको जिम्मेवारीमा गएकाले गोर्खा मिडियाका सञ्चालकले अपचलन गर्नुभयो भन्ने जाहेरी पर्दापर्दै पनि त्यो छानबिन अवरोध गरियो । त्यसकारण सरकार र राज्यका निकायले छानबिन गर्ने कुरामा हाम्रो विश्वास रहेन । त्यसकारणले संसदीय समितिले छानबिन गरेको हो ।”