• १९ असार २०८१, बुधबार

भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा

blog

लक्ष्मण पौडेल
भैरहवा, वैशाख २८ गते ।
भारतीय सेनाको विशेष विमान बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन भारतीय सैनिक अधिकारीहरु लिएर विशेष विमान गौतमबुद्ध विमानस्थलमा ओर्लिएको हो ।

बुधबार बिहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरुलाई विमानस्थलका कर्मचारीहरुले स्वागत गरेका थिए । टोलीमा ३० जना भारतीय सैनिक अधिकारीहरु रहेका छन् । उनीहरु जेठ ३ गतेसम्म लुम्बिनीमै बस्नेछन् ।

भारतीय वायुसेनाको इलुसियन विमान आइसी–७६ दिल्लीबाट काठमाडौं हुँदै गौतमबुद्ध विमानस्थलमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिनुभयो । उहाँका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो नै पहिलो अन्तर्राष्ट्रिय विमान हो । यो विमानस्थल जेठ २ गते नै औपचारिक उद्घाटन हुँदैछ ।

भारतीय विमान आएसँगै यस क्षेत्रका नागरिकमा उत्साह छाएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भटराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीका लागि अति विशिष्ट पाहुनाहरुले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरुको टोली लुम्बिनी आइपुगेको जानकारी दिनुभयो ।