रमेश विश्वकर्मा
गुल्मी, वैशाख ९ गते। गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा वैशाख २० गतेसम्म बन्द हुने भएको छ। सडक डिभिजन पाल्पाको पत्रानुसार यस सडक खण्डमा स्तरोन्नतिका लागि काम भइरहेको हुँदा चौबीसै घण्टा सडक बन्द गर्नुपर्ने भएको हो।
अत्यन्त संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक स्तररोन्नतिको काम गर्नका लागि गत माघ २६ गतेदेखि सूचना प्रकाशित गरी यस खण्ड पूर्णरुपमा चौबीसै घण्टा बन्द गरिएको थियो। सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग कार्य भइरहेको हुँदा हालसम्म पनि कटिङ्ग कार्य सम्पन्न नभएकाले पुनः वैशाख २० गतेसम्म सडक बन्द गर्नुपर्ने भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
यो अवधिमा चौबीसै घण्टा राजमार्ग बन्द गरी निर्वाध रुपमा स्तरोन्नतीको कार्य गर्नुपर्ने भएको हुँदा यस सडक खण्डबाट चल्ने सवारी साधनले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरिएको छ। जसमा वैकल्पिक मार्गका रुपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे र मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे रहेका छन्।