• ६ जेठ २०८१, आइतबार

महिलाको हत्या आरोपमा तीनजना पक्राउ

blog

फाइल तस्बिर

राजु लामिछाने
रुकुम पूर्व, वैशाख २८ गते ।
रुकुम पूर्वमा एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बहालवाला जनप्रतिनिधि, स्थानीय तह निर्वाचनका उम्मेदवार र एक जना माओवादी कार्यकर्ता छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाका–११ का वडाध्यक्ष जयकुमार बुढा, उहाँका भाई अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार कुमार सिंह बुढालाई नियन्त्रणमा लिइएको हो ।

वैशाख १९ गते स्थानीय तकसेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा सामान्य झडप भएको र स्थानीय ३९ वर्षकी दुँठी बुढा भन्ने जुनमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेको आरोप छ । जुनमाया एमाले समर्थक कार्यकर्ता हुनुहुन्छ ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटरमाथि जङ्गलमा उहाँको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको कानबाट रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा माओवादी कार्यकर्ता, नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच पुथा उत्तरगङ्गामा पटक–पटक विवाद र झडपसमेत हुँदै आएको थियो ।

मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई रुकुमकोट अदालतबाट दश दिनको म्याद गरेर अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले भने उक्त आरोप नितान्त झुटो रहेको बताएको छ । जिल्ला इन्चार्ज तेजबहादुर ओलीले बुधबार एक विज्ञप्ती जारी गर्दै स्थानीय चुनावलाई प्रभाव पार्ने र आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले आफ्ना नेता कार्यकर्तामाथि झुटो आरोप लगाएको बताउनुभएको छ । निर्वाचित जनप्रतिनिधि र उम्मेदवारलाई समेत गिरफ्तार गर्न लगाई चुनावी परिमाण आफ्नो पक्षमा पार्ने रणनीति अनुसार एमालेले रचिएको षड्यन्त्र भएको उहाँको भनाइ छ ।