• ७ पुस २०८१, आइतबार

मेवामा रमाउँदै जनप्रतिनिधि

blog

रेड लेडी प्रजातिको मेवा खेती तस्बिर : बोमलाल गिरी।

नवलपुर, भदौ ३१ गते । नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहनुभएको छ । वर्तमान वडा सदस्य मीनबहादुर महतो र पूर्ववडा सदस्य तेजबहादुर महतोले ५८ कट्ठा जग्गा भाडामा लिएर मेवा खेती गरिरहनुभएको हो ।

लालकृष्ण कृषि तथा पशु फार्म दर्ता गरेर उहाँहरूले रेड लेडी प्रजातिको मेवा खेती गरिरहनुभएको छ । हाल यो कृषि फार्ममा चार हजार आठ सय मेवाका बोटले दाना दिइरहेको वर्तमान वडा सदस्य मीनबहादुर महतोले बताउनुभयो ।  यी बिरुवाबाट २० मेट्रिक टन मेवा उत्पादन गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । चैतमा रोपेका यी मेवा असोजको पहिलो हप्तादेखि बजारमा पठाउन सकिने मीनबहादुरले बताउनुभयो । 

हाल नेपाली मेवाको बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपियाँ रहेकोमा यसले यही मूल्य पाउन सकेमा ३० देखि ४० लाख रुपियाँ कमाउन सकिने महताको विश्वास छ । त्यसका लागि उहाँहरूले हालसम्म १८ लाख रुपियाँ खर्च गरेको पूर्ववडा सदस्य तेजबहादुर महतोले बताउनुभयो । 

मेवा तयार भइसकेपछि काठमाडौँ र वीरगन्जका व्यापारीलाई बेच्ने गरी कुराकानी भइरहेको उहाँले बताउनुभयो । उहाँहरूले मेवाभित्रै खरभुजाको खेती गर्नुभएको थियो । तीन महिनामै तयार भएको खरबुजा राम्रै आम्दानी दियो । तीन महिना एउटै जग्गामा खरबुजा र मेवा हुर्किए । खरबुजा निकालेपछि अहिले मेवा पनि तयार भइरहेको छ । अरू फलफूलका लागि बर्सौं कुर्नु पर्छ । खरबुजाले एक वर्षमा चार पटक र मेवाले दुई पठक फसल दिने भए पनि उहाँहरू यो खेतीमा आकर्षित हुनुभएको हो । 

समाजसेवा गर्दैगर्दा आफ्नो जीविकोपार्जनका लागि सहयोगी हुने मीनबहादुरको भनाइ छ । “जनप्रतिनिधि हुँ भनेर मात्र पनि नहुने, घर व्यवहार चलाउन पैसा नै चाहिने रहेछ, त्यसैले जीविकोपार्जन गर्न पनि सहज हुने र अरू कृषिमा जस्तो धेरै मेहनत पनि नचाहिने भएकाले हामीले यो खेती सुरु गरेका हौँ,” मीनबहादुरले भन्नुभयो । 

   

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।