युवा नेपालीको ठुलो जनसङ्ख्या नब्बेको दशकपछि प्रवासमा छ । अमेरिकामा मात्र करिब तीन लाख नेपालीको बसोबास रहेको अनुमान छ । अमेरिकी आँकडा हेर्ने हो भने एसियन मूलको जनसङ्ख्या वृद्धिदर प्रति महिला १.६ रहेको छ । जसले बालबालिकाको जनसङ्ख्या उल्लेख्य मात्रामा प्रवासमा रहेको स्पष्ट हुन्छ ।
एकातिर नेपाली मूलका बालबालिकाको जनसङ्ख्या बढ्दो छ भने अर्को तर्फ नेपालले सक्षम देश निर्माणका कर्णाधारको सङ्ख्या गुमाइरहेको छ । अहिलेको विश्वव्यापीकरण र सञ्चार प्रविधिले मानवलाई विश्वबजार रोज्ने जो कोहीलाई अवसर दिएको छ । यो मानवीय स्थानान्तरणको एक स्वाभाविक प्रव्रिmया पनि बनिसकेको छ । हरेक राष्ट्रले आफ्ना नागरिकलाई आफ्नो मूलराष्ट्रसँग जोडेर राख्न बहुभाषिक रणनीति अवलम्बन गर्नुपर्ने हुन्छ । यसो गर्न सके २१ औँ शताब्दीको ग्लोबल भिलेजमा हराएका अल्पसङ्ख्यक नेपालीले आफ्नो पहिचान कसरी जोगाउने भन्ने चुनौतीलाई सहयोग पुग्छ । हाल प्रवासमा हुर्किरहेका युवा जनशक्तिलाई भोलिका दिनमा मातृभूमिसँग कसरी जोड्ने, कसरी फर्काउने र आफ्नो वंशजको जरोसँग कसरी नजिक राख्न पनि यसले सघाउँछ । यो अहिले मुख्य चुनौती हो ।
यी र यस्ता चुनौतीको सामना गर्ने हिम्मतसम्म राख्न नसकेको भुटानको पीडा बेग्लै छ, जो पूरै प्रवासी बनेको छ । बर्मा र थाइल्यान्डमा बसोबास गर्ने नेपाली मूलका हुन् वा भारतमा बसेका नेपालीवासी, हरेकसँग कसरी पूर्वजसँग जोडिने र आफ्ना सन्ततीलाई जोडेर राख्ने भन्ने ठुलो चिन्ता छ । नेपाली पहिचानबाट टाढिँदै अरूकै संस्कारमा घुलित पश्चिमा देशमा हुर्किरहेका नानीबाबुको आफ्नै पीडा छ जो भोलिका दिनमा झनै सकसपूर्ण हुने देखिन्छ ।
प्रवासमा रहेका हुन् वा सहर पसेर गाउँबाट टाढिएका अनि विशाल भूगोलमा छरिइरहेका नानीबाबु मातृभूमि फर्कने आसमा बसिरहनुभएको छ हजुरबा हजुरआमा । जसलाई सन्ततीसँगको सामिप्यता र मायाले हरेक दिन पोलिरहेको छ । उहाँहरू न सहर न त प्रवासमा लामो समय बस्न सक्नुहुन्छ । न त नातिनातीनासँग दिल खोलेर आफ्नो कुरा नै गर्न सक्नुहुन्छ । यसो हुनुको मुख्य कारण भाषाले बार लगाइदिएको छ । नानीबाबुहरूको नयाँ परिवेश र नयाँ दुनियाँ तगारो बनेको छ । जुन तथ्यसँग साक्षी बसेको सानो घटनाको सार यहाँ राख्न उचित ठान्छु ।
एक जना मित्रले हजुरआमाको काखमा रमाएकी सानी नानीलाई अमेरिका ल्याए । सुरुका दिनमा उनलाई पिजा वर्गरको स्वादभन्दा हजुरआमाको हातको भात नै मिठो थियो रे । भूगोल छुटे पनि हजुरआमाको माया बिर्सन नसकेर हजुरआमाको रूपरङ्ग मिल्ने जो कोहीलाई उनी हजुरआमा भनेर बोलाउँथिन् रे । हजुरआमा जस्तै देखिनेलाई गर्लम्म अँगालो हाल्थिन् रे । रुँदै हजुरआमा मात्र भन्थिन् रे ।
जो देखावटी नभएर एक अबोध बालिकाको साँचो माया थियो । जो हाम्रो दर्शनमा हजुरबा हजुरआमाबाट नानीहरूले पाउँछन् । यो हाम्रो दर्शनको जिउने र लालावाला हुर्काउने संस्कारको उपज हो । यसबाट हाम्रो परिवारको संरचना, हामीले खोजेको माया र ममताको स्वरूप बोले जस्तो लाग्छ । हाम्रो दर्शनबाहेक पाश्चात्य देशमा सामूहिक रूपमा बस्दै आएका परिवारमा नानीबाबुहरूको रोजाइ र सिकाइको केन्द्र पनि हजुरबा र हजुरआमा नै हुने गरेको पाइन्छ । साथै अनुसन्धानले पनि हजुरबा हजुरआमासँग बसेका जो नानीबाबुले संस्कार, संस्कृति, भाषागत सिकाइका साथै शारीरिक र मनोसामाजिक विकासमा सकरात्मक प्रभाव परेको देखाएको छ ।
बालबालिकालाई परिवेशले कति फरक पार्छ भन्ने कुरा तिनै हजुरआमाको चार वर्षपछिको नातिनीको व्यवहार हेर्दा देखिन्छ । जब कलेजोको टुक्रा भेट्न औँला गनेर बसेकी हजुरआमाले नातिनी भेट्न चार वर्षपछि प्रवासको भिसा पाइन उनको खुसीको सीमा थिएन रे । हजुरआमा त्यही पुरानो माया संस्कार सम्झेर प्रवासमा आउनुभो तर यता चारवर्षे नातिनी फरक भइसकेको पीडा हजुरआमाले सुनाउँदा मेरोसमेत मन रोएको थियो । जुन पीडा प्रायः अहिलेको नेपालको हरेक घरले बेहोरेको छ । यो पीडा गाउँबाट सहर वा प्रवास पसेकासँग सम्बन्धित हुन सक्छ । हजुरबुबा हजुरआमा नातिनातीनाले बुझिने भाषा वा बोली बोलुन्, बेला बेलामा हामीसँग कुरा गरुन् भन्ने चाहना राख्छन् । उनलाई चाहना छ, नानीहरूले हजुरबा आमा भनोस्, बोल्दा ढोग र प्रणामबाट सुरु गरोस् । उनलाई चाहना छ, नानीहरूले पहिले झैँ हातले वा चम्चाले खुवाएको खाइदिए हुन्थ्यो । त्यो पनि नभए एउटै टेबुलमा बसेर खाइदिए हुन्थ्यो, त्यो पनि नभए खाँदा ट्याबलेट र फोन नहेरेर कुरा गर्दै खाइदिए हुन्थ्यो भन्ने हुँदोरहेछ । फरक परिवेशमा हुर्केका नानीबाबुले हजुरबा हजुरआमाका चाहना पूरा गरेको बिरलै पाइन्छ ।
नानीबाबुहरूका बुवाआमाको पाश्चात्य र सहरी बाल हुर्काई र फरक स्वभावका कारण नानीहरूको पनि व्यवहार फरक देखेर हजुरबा हजुरआमालाई प्रवास वा सहर असहज महसुस हुनु स्वाभाविकै हो । यसले हजुरबा हजुरआमा पुस्तालाई न प्रवास न त सहर नै मन पर्छ । छ महिना वा वर्ष दिनको त के कुरा महिना दिनमै उहाँहरू थातथलो फर्कने निर्णय गर्नुहुन्छ । यो आज हजुरबा हजुरआमा पुस्ताको भोगाइ भोलिका दिनमा अहिलेका ड्याड मम्मी पुस्तालाई पनि पर्ने देखिन्छ । यसको मूल कारण नै समाजको गतिशीलतासँगै व्यक्तिको पहिचान, भाषा, कला, खानपिन, संस्कार आदिको पुस्तान्तरण गर्न सकेनौँ भने हुन्छ भन्ने प्रशस्तै वैज्ञानिक आधार पाउन सकिन्छ ।
माथि उल्लेख गरिएका उदाहरण कुनै कथा होइनन् । नेपालीको प्रवास वा सहरी जीवनमा रहेको एकथरी समाजको ऐना हो । नेपालसँग हाम्रा पुस्तालाई जोड्न सकेनौँ भने हामीले मातृभूमि भनेर जप्ने र भन्ने गरेका वाणी केवल खोक्रा भाषणमा चरितार्थ हुने छन् । भूगोलले बाँधेको राष्ट्रियता कागजको घर समान हो भन्ने ज्ञान हो । जसको सार नै नेपाली भाषा, कला र संस्कृतिसँग मनैदेखि नजोडिएका हाम्रा मम्मी ड्याड पुस्तालाई नेपाली अधिकारसहितको नागरिकताको कुनै तुक छैन भन्ने गतिलो प्रमाण हो । नेपाली नागरिकताको निरन्तरता भनेर कुर्लने आवाजसँग खोजेको जवाफ हो । हो ! हामीले हाम्रो अधिकार पाउनु पर्छ । के हाम्रा नानीबाबुप्रतिको जिम्मेवारीमा माथिका घटनाका जिम्मेवार छौँ ? छौँ भने पहिले उनीहरूलाई हाम्रो देवनागरिक लिपि र दर्शन सिकाऔँ । नेपाल पढाऔँ । नेपाल चिनाऔँ । नेपाली बनाऔँ । अनि अधिकारको लडाइँ लड्न हामीलाई कसैले रोक्दैन ।
यसका लागि नेपाली भाषा पहिलो प्राथमिकतामा पर्छ । जुन भाषाको नाम नै ‘देव’ अथवा देवताको भाषा भन्ने बुझिन्छ । संसारमा यस किसिमबाट जोडिएका कमै अलौकिक भाषा होलान् तर हामी हाम्रो भाषिक पहिचानबाट नानीबाबुलाई टाढा धकेल्दै छौँ । हामीले घरबाट नेपाली कला, संस्कार, संस्कृतिको प्रशिक्षण दिनुको सट्टा आधुनिक बजारमा मिसाउँदै छौँ । अङ्ग्रेजी समाजमा हुर्किरहेका नानीबाबुले विद्यालयमा नियमित अङ्ग्रेजी पढेकै हुन्छन् । उनीहरूले घरमा नेपाली पढ्दा बहुभाषी भएको नाताले यसका धेरै फाइदा छन् भनेर अनुसन्धानले देखाएको छ । जसका सकरात्मक पक्ष तल उल्लेख गरिएको छ ।
हामीले नानीबाबुलाई नेपालसँग जोड्न घरमा नेपाली भाषाको प्रयोग गर्न जरुरी छ । घरले हजुरबा हजुरआमासँग नानीबाबुलाई नियमित सम्पर्क गराउनु पर्छ । घरले नेपाली भाषाबाटै नेपाल पढाउन सक्नु पर्छ । ‘न’ भन्ने अक्षरबाट नेपाल र नमस्ते सिकाउन सक्नु पर्छ ‘ह’ भन्ने अक्षरबाट हजुरबुबा हजुरआमा ... र यस्तै सिकाउनु पर्छ । बेफुर्सदको बहनाले हामी यस कर्मबाट पछि हट्न खोज्नु हुँदैन । साथै राष्ट्रले पनि यसको प्रसार र संरक्षणको जिम्मा लिनुपर्ने हो । सोचाइ नै बनाउन सकेको छैन कि भन्ने भान हुन्छ । विश्वका अरू देशको नीति अवलम्बन गर्नुपर्ने हो तर ध्यानसमेत दिन सकेको छैन कि भन्ने देखिन्छ ।
यसैले सुरु अरूबाट होइन हरेक घरले आफैँबाट गरौँ । जागरणको थालनी घरबाटै गरौँ । हामी साँच्चै नेपाली मूलको हाम्रो पुस्ता तयार गर्ने हो भने फुर्सदको समय निकालौँ । घरमा कनिकुथी नानीबाबुसँग अङ्ग्रेजी होइन हाम्रा हजुरबा पुस्ताको भाषा वा नेपालीमा कुरा गरौँ । नेपालमय घर बनाऔँ । जसका लागि अमेरिकाको शिक्षा विभागले समेत ग्लोबल भिलेजमा पहिचान बचाउन निम्न अनुसारका केही सुझाव दिएको छ, सकिन्छ पालना गरौँ ।
१. घरमा नानीबाबुसँग नेपालीमा मात्र कुरा गरौँ र नेपाली बोल्न उत्प्रेरणा जगाऔँ ।
२. तपाईले बाल्यकालमा सुनेका कथा नानीबाबुलाई सुनाउनुहोस् । राति सुत्ने समय भन्दाअघि वा तपाईंको बिदाको दिनमा बालबालिकाका लागि केही समय निकाल्नुहोस् र नेपाली सजिला बालगीत, बालकथा, हजुरबा हजुरआमाका कथा सुनाउनुहोस् ।
३. नेपाली स साना किताब पढ्ने पढाउने बानी बसालौँ । सकेसम्म दिनमा नभए हप्तामा केही समय छुट्याएर बाबुनानीसँगै किताब पढ्नुहोस् र उनीहरूलाई सुनाउनुहोस्, उनीहरूलाई पनि पढ्न लगाउनुहोस् । सकेसम्म कथा, लोक भाका, बालगीतको पारामा सुनाएर सिकाउनुहोस् ।
४. नजिकको लाइब्रेरीमा नेपाली भाषाका पुस्तक छन् भने ल्याउनुहोस् । नत्र किनेर भए पनि ल्याएर घरमा सानो मिनी लाइब्रेरी बनाएर दैनिक केही समय नेपाली लाइब्रेरीका लागि छुट्याउनुहोस् ।
५. म को हुँ भन्ने पहिचान सिकाउनुहोस् । आफ्नो खानपिन, पहिरन, संस्कार, संस्कृतिको पहिचान, इतिहास र पुर्खाका बारेमा जानकारी दिनुहोस् ।
६. के तपाईंको समुदायमा बालबालिकालाई सकारात्मक प्रभाव पार्ने कार्यक्रम भइरहेका छन् ? जस्तै, नेपाली भाषा कक्षा, नृत्य, सामाजिक कार्यक्रम ... आदि । तीबारे जानकारी राखी नियमित रूपमा बालबालिकालाई सहभागी गराउनुहोस् ।
७. बालाबालिका जबसम्म युवा हुँदैनन् र नेपाली भाषा, कला आदिको बारेमा जानकारीसहित तपाईले सिकाउन छुटाउनु हुँदैन । उनीहरूको घरको बोलीचालीको भाषाको माध्यम नेपाली वा तापाईंको मातृभाषा बनाउनुपर्ने हुन्छ ।
८. बालबालिकाको शब्द भण्डार विकास र नेपालमा रहेका आफन्तसँग सम्बन्ध स्थापित गर्न नेपालमा भएका हजुरबा हजुरआमा र आफन्तसँग नियमित वा हप्तामा एक दिन कुराकानी गराउनु होस् । हजुरबा हजुरआमाका पुराना कथा सुन्ने र छलफल गराउने गर्नुहोस् ।
९. आफ्नो भाषा, कला, संस्कृति... आदिप्रति गर्व गर्नुहोस् भन्ने भावनाले उनीहरूलाई सदैव उत्पेरणा जगाउनु होस् ।
अन्त्यमाः बहुभाषा सिकाइबाट फाइदा के छ भन्ने कुराको हामीमा जानकारी नहुँदा पनि धेरै अभिभावकले आफ्नो भाषा सिकाउने काममा बेवास्ता गरेको पाइन्छ । बहुभाषा सिकाइबाट बालबालिकामा धेरै फाइदा हुने देखिन्छ । जसका लागि हालसम्म गरिएका अनुसन्धानले देखाए अनुसार बहुभाषीको दिमाग सधैँ सक्रिय भएर अभ्यस्त हुने छ । एक भाषाबाट अर्को भाषा बोल्दा दिमागले नयाँ स्वीच अन गर्नुपर्ने हुँदा सदैव दिमाग सक्रिय हुन्छ । फलस्वरूप दिमागमा बहुभाषाको लचकताले अल्जाइमर जस्ता रोग लाग्नबाट बचाउँछ । यसको दोस्रो फाइदा भनेको बहुभाषी सजिलैसँग जुनसुकै समाजमा पनि घुलमिल हुन सक्ने क्षमताको विकास हुन्छ, जसले उनीहरूको मनोसामाजिक सिप सधैँ उच्च रहन्छ । यसको अर्को फाइदा भनेको बहुभाषी बढी सृजनशील, विश्लेषणात्मक सोचाइ भएका, समस्या समाधान र निर्णय गर्न सक्ने क्षमता तथा उच्च स्मरण शक्तिको हुने र स्व नियन्त्रित गर्न सक्ने हुँदा अरूभन्दा बढी रोजगारीका अवसर र समाजमा उच्च प्रतिष्ठा प्राप्त गर्न सक्छन् ।
अनुसन्धानका पाटा हेर्ने हो भने अमेरिका जस्तो खुला समाजमा हुर्केका हाम्रा नानीबाबुलाई विश्व परिवेशसँगै आफ्नो परिवेश सिकाउन हामीले कन्जुस्याइँ गर्नुहुन्न । बहुभाषा सिक्न नानीबाबु सुरुमा आफैँ तत्पर भने हुँदैनन् । यसका लागि अभिभावकको उत्प्रेरणा जरुरी छ ।