भारत नियन्त्रित कश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाले भारत र पाकिस्तानबिच अप्रिय तनावको स्थिति उत्पन्न गरेको छ । यसले केवल भारत र पाकिस्तानबिच मात्र नभएर विश्व शान्तिमै पार्न सक्ने असरबारे चिन्ता सुरु भएको छ । घटना यही अप्रिल २२ तारिखका दिन भारतको जम्मु कश्मिर राज्यको राजधानी श्रीनगरबाट लगभग सय किलोमिटर टाढा एक पर्यटकीय सहर पहलगाममा भएको थियो । पहलगाम नजिक वैसरन घाँटीमा पर्यटक घुमफिर गर्न जाने र त्यहाँको प्राकृतिक वातावरणको आनन्द लिने गर्दथे । सो दिन त्यस पर्यटकीय स्थलमा जङ्गलबाट अचानक निस्केका हतियारधारी आतङ्कवादीले त्यहाँ आनन्द लिइरहेका पर्यटकलाई उनीहरूको नाम तथा धर्म सोधी बन्दुकको निशाना बनाएका थिए । पर्यटकहरूलाई धर्म सोधी हिन्दुहरूमाथि आक्रमण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
सो आतङ्कवादी आक्रमणमा एक नेपाली पर्यटक सुदीप न्यौपानेले पनि ज्यान गुमाउनु प¥यो । बुटवलका उहाँ आमा, बहिनी र ज्वाँइसहित घुम्न जानुभएको थियो । न्यौपाने स्वास्थ्य सेवाका एक अभियन्ता हुनुहुन्थ्यो । आक्रमणको जिम्मा पाकिस्तान समर्थित भनी दाबी गरिएको लस्कर ए तोइबाको मोर्चा दी रेसिस्टान्स फ्रन्ट (टिआरएफ) ले लिएको छ । घटना भएको स्थान जङ्गलबिच पर्यटकले आराम गर्ने र फोटो तथा भिडियो खिच्ने चौर जस्तो स्थान रहेको बताइएको छ । त्यहाँ धेरै जसो पर्यटक तथा उनीहरूका गाइड तथा घोडा सवारी सेवा उपलब्ध गराउनेहरू नै हुने गरेको छ । मृतकहरू पनि धेरै जसो भारतका विभिन्न राज्यबाट घुम्न आएका पर्यटक नै थिए भने महाराष्ट्रका सबैभन्दा धेरै अर्थात् छ जना पर्यटकले ज्यान गुमाए । विदेशी पर्यटक भने नेपालका सुदीप मात्र पर्नुभयो । उहाँलाई तिम्रो धर्म के हो भनी सोधी हिन्दु भनेपछि गोली हानी हत्या गरिएको थियो । मृतकमध्ये एक २६ वर्षीय युवक भारतीय नौ सैनिक अधिकारी विनय नरवाल पनि हुनुहुन्थ्यो । उहाँ आफ्नी नवविवाहित पत्नीका साथ हनिमुन मनाउन जानुभएको थियो । उहाँलाई पत्नीकै अगाडि गोली हानी हत्या गरियो । कफिनमा फर्कनु उहाँको नियति बन्यो ।
यो आक्रमण सो क्षेत्रमा गत दुई दशकमै सबैभन्दा ठुलो भएको पनि भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । एक जना भने पर्यटकलाई उद्धार गर्न खटेका पहलगामका स्थानीय तथा पर्यटक पथप्रदर्शक सैयद अदिल हुसेनको पनि मृत्यु भयो । घटनाबाट पहलगामका स्थानीय पनि अत्यन्त आक्रोशित तथा दुःखित छन् । फस्टाउँदो पर्यटनका कारण उनीहरू धेरै लाभान्वित भएका थिए तर सो घटनाका कारण त्रस्त भएपछि रोजीरोटी गुम्ने अवस्था सिर्जना भएको छ । घटना भएको स्थानमा पर्यटकको धेरै चहलपहल हुने भए पनि सुरक्षाको बन्दोबस्त भने नभएको बुझिएको छ । सुरक्षाकर्मीले पनि सो स्थानमा हमलाको आशङ्का नगरेकाले नै त्यति धेरै क्षति हुन पुगेको हो । भारतले यस आतङ्कवादी हमलाका लागि पाकिस्तान सरकारलाई दोष लगाएको छ भने पाकिस्तानले यसमा आफ्नो कुनै हात नभएको र स्वतन्त्र छानबिनका लागि आफूले सहयोग गर्ने जनाएको छ । भारतले आतङ्कवादीहरू पाकिस्तानी नागरिक भएको बताउँदै आएको छ । पाकिस्तान भने कश्मीरबारे संयुक्त राष्ट्रसङ्घको प्रस्तावको पालनाबाहेक अन्य माध्यमबाट समस्याको समाधान हुन नसक्ने बताउँदै आएको छ । यस्तो स्थितिमा दुई देशबिच तिक्तता बढ्दै गएको छ भने सीमा क्षेत्रका बासिन्दा त्रसित हुन पुगेका छन् ।
पाकिस्तानका सञ्चारमन्त्री अत्ताउल्ला तरारले त भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि आक्रमण गर्न लागेको ट्विटरमा उल्लेख नै गर्नुभयो । भारतले भने यसलाई पाकिस्तानको त्रसित मानसिकताको रूपमा बुझेको छ । पहलगाम घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो साउदी अरेबियाको भ्रमणबाट पाकिस्तानी हवाई क्षेत्र छलेर स्वदेश फर्कनुभयो भने भारतले अप्रिल ३० देखि मे २३ सम्म पाकिस्तानी यात्रु वा सैनिक विमानलाई भारतीय हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसैबिच भारतले पाकिस्तानी नागरिकलाई भारत छोड्न बाध्य पनि बनाएको छ । यसबाट सीमा क्षेत्रका धेरै पाकिस्तानीलाई असर परेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले यस आतङ्ककारी घटनाका योजनाकार र समर्थकलाई उपयुक्त सजाय दिलाएरै छाड्ने बताउनुभएको छ । एक छिमेकी देश तथा सार्क सदस्य राष्ट्रको नाताले नेपालले पनि यो आतङ्ककारी हमलाको निन्दा गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले एक वक्तव्य प्रकाशित गर्दै आतङ्कवादी आक्रमणप्रति दुःख व्यक्त गर्नुका साथै पीडितका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, नेपालले यस दुःखको घडीमा आतङ्कवादविरुद्ध भारतको साथ रहने पनि जनाएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत सो घटनाप्रति दुःख व्यक्त गर्दै निर्दोष मानिसहरूमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ । नेपालले कुनै पनि प्रकारका आतङ्कवादी घटना विश्वका जुनसुकै स्थानमा भए पनि भत्र्सना गर्दै आएको छ । नेपाल गौतम बुद्धको देश भएकाले पनि विश्वलाई नै शान्तिको सन्देश दिँदै आएको छ । हरेक समस्याको समाधान शान्तिपूर्ण रूपमा वार्ताबाटै हुनु पर्छ भन्ने नेपालको मान्यता रहिआएको छ । त्यसमाथि नेपाल हाल दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सार्कको अध्यक्ष राष्ट्र भएका कारण पनि सार्क क्षेत्रमा भएका कुनै पनि शान्ति खल्बल्याउने प्रयासलाई उचित ठह¥याउन सक्दैन । पहलगाम घटनामा आतङ्कवादीले धर्म सोधेर निसाना बनाएका छन् । यो कुनै पनि हालतमा क्षम्य हुन सक्दैन ।
यस घटनाबाट भारत र पाकिस्तानबिच तनाव मात्र होइन युद्धको खतरा पनि रहेको छ तर सार्क सङ्गठनमा आबद्ध दुवै राष्ट्रले संयम अपनाउनु उचित हुन्छ । यसबाट धेरै क्षति भारतलाई भएको छ र यसबाट भारत उत्तेजित हुनु स्वाभाविक हो तर क्षेत्रीय मात्र नभई विश्व शान्तिका लागि पनि दुवैले समस्यालाई शान्तिपूर्ण रूपमा वार्ताद्वारा समाधान निकाल्नु पर्छ । भारतद्वारा सिन्धु जलसन्धि निलम्बन गरी भारतबाट पाकिस्तानतर्फ जाने पानी रोकिने हल्लाले पाकिस्तान पनि आतङ्कित छ र यसबाट करोडौँ पाकिस्तानी जनतालाई असर पर्न सक्छ । त्यसैले दुवै देशले आतङ्कवादसँग लड्न प्रतिबद्धता जनाउँदै वास्तविक दोषी पत्ता लगाई कारबाही गर्नु उचित हुन्छ । स्वतन्त्र छानबिनलाई दुवै देशले सघाउनु राम्रो हुन्छ । यो घटनाले सार्क राष्ट्रबिचको सहयोग र शान्तिको वातावरण बिग्रन दिन हुँदैन । नेपाल सार्क सङ्गठनको अध्यक्षको नाताले पनि उचित पहल लिनु पर्छ । भारतीय प्रम मोदी जस्ता सुझबुझ भएका नेताले यो क्षेत्रमा अशान्ति भड्कन नदिन वार्ताबाटै समाधान गर्न पहल गर्नु वाञ्छनीय हुने छ । यदि भारत र पाकिस्तानबिच युद्ध भएमा त्यसको असर नेपाललाई पनि पर्ने छ । अहिलेको तनावकै कारण पनि नेपाल–भारत खुला सीमा भएकाले दुवै राष्ट्रले सीमामा कडाइ गर्न थालिसकेका छन् भने युद्ध भएमा त्यसको असर आर्थिक, कूटनीतिकलगायत हरेक क्षेत्रमा पर्ने छ । यसले भारत र पाकिस्तान मात्र होइन यस क्षेत्रमै प्रभाव पार्ने सम्भावना हुन्छ । नेपालले वर्तमान सार्क राष्ट्रको अध्यक्षका हैसियतले यस क्षेत्रमा तनाव हुन नदिन कूटनीतिक पहल गर्नु पर्छ ।