केपी शर्मा ओली लोकप्रिय मतका आधारमार ठुलो पार्टीको शक्तिशाली अध्यक्ष हुनुहुन्छ । यतिबेला राष्ट्रको शक्तिशाली कार्यकारी प्रधानमन्त्रीको कार्यभार पनि उहाँमै छ । नेकपा (एमाले) लाई अडानहीन र लिङ्ग नछुट्टिएको पार्टी भनेर आरोप लगाउने गरिन्छ । तैपनि पार्टीको नेतृत्व गरेपछि स्पष्ट अडान, दृष्टिकोणसहितको मजबुत पार्टी बनाउने ओलीको निरन्तरको ध्येय हो । देश भूकम्पले थिलथिलो भएको, राजनीतिक रूपले अस्थिर, सङ्क्रमणकालीन अवस्था, पहिलो संविधान सभाले संविधान बनाउन असफल भएको र दोस्रो संविधान सभाले तयार पारेको संविधान पनि आफूलाई नसोधी घोषणा गरिएको भन्दै छिमेकीले नाकाबन्दी नै ग¥यो । त्यसबेला उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सन्धिसमेत गरेपछि आफूलाई ठुलदाइका रूपमा प्रस्तुत गर्ने भारत एकतर्फी रूपमा नाकाबन्दी अन्त्य गर्न तयार भयो । स्वाभिमानको हिसाबमा योभन्दा ठुलो उपलब्धि के हुन सक्छ ? जसको नेतृत्व ओलीले नै गर्नुभयो ।
जनपक्षीय कामका कारणले ओलीको नेतृत्वमा पार्टीले २०७४ सालको स्थानीय तथा आमनिर्वाचनमा फराकिलो अन्तरसहित पहिलो पार्टीको स्थान हासिल भयो । त्यति मात्र होइन नेपाल कम्युनिस्ट पार्टी कालमा गणितीय बहुमतसहित पार्टीलाई अवसरवादीले कब्जा जमाउन लाग्दा हिम्मत र सुझबुझका साथ जोगाउन सक्नु कम उपलब्धि थिएन । सबै शक्ति एक भएर एक्लो पार्दा पनि पार्टीलाई एक नम्बरको बनाउन सफल हुनु इतिहासमा नाम लेखाउने अवसर हो ।
मेरा बाजेले घिउ खाएका थिए, मेरो मुख सुघ्नु भन्ने भनाइले राम्रो काम गर्दैन, अतः राजनीतिमा समर्पणको निरन्तरता चाहिन्छ । निरन्तर देश, जनता र पार्टी हितमा काम गरिरहनु पर्छ । हिजो ओलीलाई राष्ट्रवादी, सपना द्रष्टा, युगनायक, राजनेता आदि विशेषणसहित फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नेहरू आज उहाँले गरेका राम्रो कामको पनि प्रचार गर्दैनन् न त तिनीहरू पार्टीको सङ्गठन निर्माणमै खट्छन् । तिनीहरू त ओलीलाई विभिन्न माध्यमको सहायताबाट खुसी पारेर व्यक्तिगत र पारिवारिक लाभ लिने दाउमा देखिन्छन् ।
अध्यक्ष ओली बुढेसकालमा पनि दौडिरहनुभएको छ । हिजो निरङ्कुश पञ्चायतकालमा होस या २०४८ देखि २०५१ सालसम्म भएको सर्वसत्तावादी शासनकालमा भोकभोकै सङ्गठन गर्ने र पार्टीलाई बचाउने मान्छेको अभाव छ । अहिले जुन तहमा चुनाव हुने हो टिकट वितरणको अधिकार प्राप्त व्यक्ति समातेर ‘धनरस’ ले मनाउँदै टिकट लिने, पार्टीका अधिवेशनमा नक्कली सदस्यको लेबी र सदस्यता शुल्क बुझाएर आफ्नो पक्षमा भोट हाल्न लगाएर विभिन्न पदमा विजय हुनेहरूको बाहुल्य बढ्दो छ । पार्टीभित्रका कथित शक्ति भएकालाई अर्थ सहयोग गर्दै, महानताको पगरी सामाजिक सञ्जालमा गुथाउँदै राजनीतिक नियुक्ति, टिकट तथा इन्चार्जसिप लिनेको बाहुल्यता छ ।
जो कार्यकर्ता कुनै पनि फाइदा नलिई अहिलेसम्म बसिरहेका छन् तिनीहरू पनि अहिलेसम्म बसिहालियो, अब अन्त गएर पनि केही गर्न सकिँदैन, कुनै बेला त केही पाइहालिन्छ कि भन्दै अमुक आशामा बिनाउत्साह दिन बिताइरहेका छन् । हाम्रो पार्टी पङ्क्तिले अहिले माक्र्सवादी लेनिनवादी सिद्धान्तको अध्ययन गर्न छाडेको छ । किनकि अहिले अधिकांश नेतृत्वलाई त्यतापट्टि कुनै चासो र चिन्ता छैन । बरु कसैले त्यसबारे कुरा ग¥यो भने पुरानो सिद्धान्त अलापेर के हुन्छ, बरु ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउनु पर्छ भन्न थालेका छन् । २०५४ तथा २०७८ सालको स्थानीय चुनावबाट निर्वाचित स्थानीय सरकारका प्रतिनिधि पनि यिनै समस्याले ग्रस्त भए । उनीहरूलाई पनि आफू स्थानीय सरकारमा भएको दम्भ भयो । लजिस्टिक सप्लाइदेखि भवन निर्माण तथा बाटो कुलो, डोजरदेखि औषधी खरिद र कर्मचारी नियुक्तिसम्म कमिसनमा काम हुन थाल्यो । कुनै पार्टीका जनप्रतिनिधिमा फरक देखिएन ।
विकासको खाका त माक्र्सवादी सिद्धान्तमा आधारित भएर द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण अनुसार गर्नु पथ्र्यो । निर्देशन, अनुगमन, प्रशिक्षण पनि त्यही अनुसार चाहिन्थ्यो होला । अनि जता पनि भ्रष्टाचार, ढिलासुस्ती, कमिसनखोरी र दण्डहीनता बढेपछि अराजकता बढ्ने नै भयो । त्यसैले त सामाजिक सञ्जालमा व्यक्त गाली हेर्न सकिने खालका छैनन् ।
पहाडी गाउँ पूरै खाली भएका छन् बसाइँसराइका कारणले । परम्परागत खेती गरेर टिक्न सकिने अवस्था छैन । खेती लगाएर वर्षभरि खान पुग्दैन । हुनेखाने वर्गभित्रका युवा विकसित मुलुकमा जाने क्रम जारी छ । विद्यार्थी भएर जानेले नेपालको ठुलो धनराशि पनि सँगै लिएर गएको छ । मध्यम र गरिब परिवारका युवा खाडी मुलुकमा गएर ५० डिग्रीको तापक्रममा काम गर्न विवश छ । जसले पठाएको पैसाकै आधारमा यहाँ बजेटको खाका कोरिन्छ । यी समस्यासँग प्रधानमन्त्री ओली जानकार हुनुहुन्छ होला । कि यस्ता समस्या नजिक बस्नेले सुनाउँछन् कि सुनाउँदैनन् ? किनकि यी समस्या पहिचान र समाधान गर्नेतिर खासै ध्यान गएको देखिँदैन, जसका कारण निराशा, अराजकता र अनुशासनहीनता बढेको छ ।
प्रधानमन्त्री ओलीसँग भेट्न नसके पनि देखिएका समस्या समाधान गर्न केही सुझाव प्रस्तुत गरेको छु । सुझाव मनन गर्नुहुने छ भन्ने अपेक्षा छ ।
१. भ्रष्टाचार तथा तस्करी छानबिनका लागि एउटा निष्पक्ष अधिकार सम्पन्न आयोग बनाउने । आयोगलाई एक महिनाको समय तोकेर प्रतिवेदन पेस गर्न आदेश दिने । तत्काल सुशासन कायम गर्ने ।
२. अख्तियार तथा सतर्कता केन्द्रलाई सक्रिय बनाई स्थानीय तहतिर बढी शक्तिकेन्द्रित गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने ।
३. कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त बनाई पुरस्कार तथा दण्डको व्यवस्था गर्ने ।
४. हाललाई विद्यार्थी भिसा पूरै रोकेर कुन विषयमा नेपालमा पढ्न पाइँदैन ? कुन देशमा के विषय पढ्न आवश्यक छ ? छानबिन समिति बनाई त्यसको सिफारिस अनुसार काम गर्ने ।
५. बढ्दो सहरीकरणलाई रोक्न गाउँमा केकस्ता आम्दानीका काम गर्न सकिन्छ, विस्तृत सम्भाव्यता अध्ययन गर्ने ।
पार्टीगत तहबाट गर्नुपर्ने काम
१. आफूले जितेको स्थानीय तहमा नमुनायोग्य काम गर्न योजनाका सम्भावित खाका तयार गर्ने । सम्बन्धित ठाउँ अनुसार कार्यान्वयनका लागि कडाइ गर्ने ।
२. माक्र्सवादी प्रशिक्षण दिने र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण अनुसार विकासका काम गर्ने ।
३. पार्टी कमिटी गठन, पुनर्गठन, अधिवेशन, प्रशिक्षण, योजना निर्माण, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन, समीक्षा जस्ता चक्रलाई नियमितता दिने ।
पार्टी जीवनमा तथा मुलुकमा धेरै बिग्रिसकेको छ, यसलाई छिट्टै सुधार नगरे अराजकताले सीमा नाघ्छ । त्यसपछि नियन्त्रण गर्न निकै कठिन हुने छ । अहिले राजावादीका नाममा आएका प्रतिक्रिया र प्रतिवाद अराजकताकै उदाहरण हुन् । सुशासन कायम गर्ने हो भने त्यस्ता गतिविधि निस्तेज भएर जाने छन् । मात्र समस्या पहिचान र समाधानका लागि इच्छाशक्तिको आवश्यकता छ । सकिने कि सच्चिने भन्ने निर्णय देशको कार्यकारी र ठुलो पार्टीको नेताका नाताले ओलीले गर्नुपर्ने दायित्व छ । आशा छ, मुलुकमा ठुलठुला अराजक गतिविधि समाप्त पार्ने हिम्मत भएकाले ओलीले मुलुकका समस्या समाधानमा दत्तचित्त भई अगाडि बढ्न ढिला गर्नुहुन्न । नत्र समयले कसैलाई पनि पर्खंदैन ।