• २० असार २०८२, शुक्रबार

‘विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ’

blog

तस्बिर : रासस

काठमाडौँ, असार २० गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताउनुभएको छ । 

यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उहाँले यस्ता प्रदर्शनीले विद्यार्थीका कला प्रस्तुत गर्नुका साथै उनीहरूलाई भविष्यमा नयाँनयाँ कला सृजना गर्न प्रोत्साहित गर्ने धारणा राख्नुभयो । उहाँले महानगरभित्रका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थीका कला प्रदर्शनीमा राखिएका जनाउँदै सृजना आकर्षक, संस्कृति तथा सम्पदाको संरक्षणमा केन्द्रित रहेका प्रतिक्रिया दिनुभयो । 

शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एण्ड स्कप्चर’ ढाँचाको तालिम कार्यक्रमपछि विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको यहाँ प्रदर्शन गरिएको हो । सो क्रममा उपप्रमुख डङ्गोलले भन्नुभयो, “पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै प्रगति भएको मैले पाएँ । सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस्, यसले विद्यार्थीलाई प्रेरित गरेको महसुस गरेँ ।”

यसैबिच उहाँले उक्त प्रदर्शनीको आजै समापनसमेत गर्नुभयो । समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सीपसँग जोड्दा सृजनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सीप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एण्ड स्कप्चर’ तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

उहाँले सृजनशील व्यक्तित्व निर्माण गर्न कलाको महत्त्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो । कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कार्यक्रममा महानगरका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रदर्शनी उत्साहजनक रहेको धारणा राख्नुभयो । उहाँले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको पनि काम गर्ने बताउनुभयो ।

समारोहमा प्रशिक्षक तथा सहायक प्रशिक्षक, प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान पनि गरिएको थियो । यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रतिष्ठानले आयोजना गरेको विद्यालयमा प्रशिक्षक तथा सहायक प्रशिक्षक रहेका कलाकारहरूले सृजना गरेका कलाकृति समावेश गरिएको ‘एकता’ प्रदर्शनी पनि आजै सम्पन्न भएको छ । रासस