प्रकृतिको सिर्जना हो, मानव जीवन । मानवले प्रकृतिको देन र आफ्नो दायित्व भुल्नु हुँदैन । प्रकृतिको सामिप्यमा रहनुपर्ने र प्रकृतिको सन्तुलनको नियम पालना गर्ने मानवीय दायित्व हो । जैविक विविधताको अनुपम सम्बन्ध र सन्तुलनमा मात्र मानवको अस्तित्व र जीवनचक्र सञ्चालन हुन्छ । भूगोल, हावापानी अन्य प्रकृतिको सन्तुलनमा मानवको सुखद जीवन जिउन सकिन्छ । मानव प्रकृतिविरुद्ध होइन् प्रकृतिसित समाहित हुनु पर्छ ।
पृथ्वीमा तापक्रम बढ्ने, बेमौसमी वर्षा, नयाँ र उन्मूलन भएका रोगव्याधिको बढोत्तरी, कृषि प्रणालीमा मौसमको प्रतिकूल प्रभाव, अकस्मात् विपत्को सामना, हिमालमा हिउँको मात्रा घट्दो अवस्था र पानीको स्रोत कमजोर हुनु, समुद्रको सतह बढ्दै जादा तटीय क्षेत्रमा डुबान हुनु जस्ता समस्याले विश्वमा हलचल ल्याएको छ । प्रकृतिको अप्राकृतिक दोहन र प्रतिकूल कार्यका कारण विश्व जलवायु परिवर्तनले प्रभावित छ । विकसित राष्ट्रले अत्यधिक प्रकृतिको दोहन गर्ने र पर्यावरणमा प्रतिकूल ग्यास उत्सर्जनले गरिब राष्ट्र प्रताडित छन् । जलवायु परिवर्तनको असर सीमारहित हुने हुँदा समस्याको भारी अल्पविकसित राष्ट्रले बोक्नु परेको छ । हिमशृङ्खलामा हिउँको मात्रा घट्दै जाने र पानीका स्रोतमा प्रतिकूलता देखिन थालेको छ ।
नेपाल पनि जलवायु परिवर्तनको असर सामना गर्ने देशको अग्र सूचीमा पर्छ । हाम्रो भूबनोट र जैविक विविधताको सम्बन्धमा प्रतिकूलता देखिन थालेको छ । तापक्रम बढेका कारण हिमालमा हिउँको मात्रा क्रमशः घट्दै गएको छ । हिउँको घट्दो अवस्थाले पानीका स्रोत सुक्न थालेको छ । बेमौसमी वर्षाका कारण विपत्को अपत्यारिलो घटनाको सामना गर्नु परेको छ । मौसमको गडबडीले कृषि उत्पादनमा प्रतिकूलताको सामना गर्न बाध्य छौँ । विभिन्न रोगव्याधिको बढ्दो अवस्था र रोकथाममा चुनौती देखिएका छन् । अत्यधिक गर्मीका कारण जीवन जिउन असजिलो भएको अनुभूति भएको छ । गत वर्ष असोजमा भएको बेमौसमी वर्षा र जनधनको क्षति एवं सोलुखुम्बु जिल्लामा भएको हिमताल विस्फोट जलवायु परिवर्तनको असरका प्रतिनिधिमूलक घटना थिए ।
जलवायु परिवर्तनको असरको प्रतिकूलताविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा दह्रो उपस्थिति र जलवायु अनुकूलनका लागि गरिएका प्रयास सकारात्मक नै छन् । कोप सम्मेलनमा नेपालको सक्रlय सहभागिता, अन्तर्राष्ट्रिय न्यायालयमा नेपालले जलवायु परिवर्तनको असरको न्यायका लागि गरेको बहस र दाबी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसलाई नेपालको हिमालको अवस्थाको अवलोकन गराउनु, राष्ट्रसङ्घको महासभामा नेपालमा जलवायु परिवर्तनको अवस्थाको प्रस्तुतिसहित अनुकूलनका लागि गरेका बहसपैरवी महत्वपूर्ण छन् । नेपाल जस्तै जलवायु परिवर्तनको असरमा प्रताडित देशसँग मिलेर सामूहिक दबाबका लागि प्रयत्न पनि भएका छन् । जलवायु परिवर्तनको असर, क्षतिपूर्तिको पहुँचसँगै आन्तरिक व्यवस्थापनका लागि नीतिगत व्यवस्था, संरचनागत जिम्मेवारी र सामूहिक प्रयास भएका छन् ।
जलवायु परिवर्तनको असरले प्रभावित भएकाले कालापत्थरमा मन्त्रीपरिषद्को बैठक गरी नेपाल विश्वको ध्यान आकृष्ट गराएको थियो । जलवायु अनुकूलनका लागि फेरि विश्वको ध्यानाकृष्ट गर्न सगरमाथा संवादको विषय चर्चामा छ । यही जेठ २ देखि ४ गतेसम्म सगरमाथाको बेसक्याम्पमा सगरमाथा संवाद गर्ने कार्यक्रम तय भएको छ । विश्वको अग्लो हिमाल सगरमाथाको सेरोफेरोमा गरिने संवादको मुख्य उद्देश्य हाम्रा हिमालको अवस्थासँगै जलवायु परिवर्तनको असरको न्यूनीकरण गर्न विश्वमञ्चमा ध्यानाकृष्ट गर्दै अनुकूलनका लागि दबाब दिने प्रयत्न गरिने छ ।
सगरमाथा संवाद जलवायु अनुकूलनका लागि सिर्जनात्मक र नवीनतम सोचका रूपमा हेरिएको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यम, सञ्चारकर्मी, जलवायु परिवर्तनका क्षेत्रमा रहेका प्राज्ञिक व्यक्तित्व, वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा संलग्न संस्था, जिम्मेवार निकायका नेतृत्व, सरोकार पक्षसमेतको सहभागिता हुने भनिएको छ । जलवायु परिवर्तनको असर हिमालदेखि समुद्रसम्मका घटना र विषयमा बहस हुने बताइएको छ । जैविक विविधता र जनजीविकामा परेको असर, प्राकृतिक स्वरूपमा आएको परिवर्तन, जल र हावापानीमा परेको प्रतिकूल प्रभाव र विपत् जोखिमका अवस्थाबारे पनि बहस हुने अपेक्षा गरिएको छ । विश्वका आर्थिक रूपमा सबल राष्ट्रको उत्पादन प्रक्रियामा कार्बन ग्यास उत्सर्जनबाट भएका गल्तीको सजाय हामीले भोग्नु परेको, जैविक विविधता प्रतिकूलताको प्रभावले जनजीविका र अर्थतन्त्रमा प्रभावित भएको, तापक्रम वृद्धिले मानव स्वास्थ्यमा असर परेको र समग्र मानव जीवन प्रभावित भएको विषयमा बहस पैरवी हुनेमा जोड दिइएको छ ।
विकसित देशले प्रकृतिको दोहन गरेका कार्बन उत्सर्जन भएको छ । जसले गर्दा कार्बन उत्सर्जन कम भएका देश अन्यायमा परेका छन् । अमेरिकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने विश्व अभियानबाट अलग हुने घोषणा गरेर विश्वलाई नै अचम्मित पारेको छ । आर्थिक रूपमा सम्पन्न देशले जलवायु अनुकूलनका लागि नेतृत्व गर्नुपर्नेमा पन्छिने प्रवृत्तिले समस्या समाधान गर्ने उत्साहमा अवरोध हुने आशङ्का गरिएको छ । जलवायु परिवर्तनको असरविरुद्ध हुने वैश्विक सामूहिक प्रयत्नमा अवरोध हुने हो कि भन्ने आशङ्का भएको छ । सगरमाथा संवादले विश्वको ध्यानाकृष्ट गरी हामी अन्यायमा परेको र अन्यायको क्षतिपूर्तिसहित जलवायु अनुकूलनका लागि दबाब दिनुपर्ने विषय सञ्चार माध्यममार्फत प्रसारित गर्ने उद्देश्य लिएको छ । संवादले हिमालदेखि समुद्रसम्मको जलवायु परिवर्तनले पारेको असर र अनुकूलनका लागि गर्नुपर्ने कामबारे सन्देश प्रसारित गर्ने छ ।
नेपालले सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनयुक्त देश बनाउने वाचा गरको छ । जलवायु वित्त कोषमा पहुँचसँगै अनुकूलनका लागि प्रविधि विकास गरी निजी क्षेत्रको लगानी र अर्थतन्त्रको उत्पादनशीलता अभिवृद्धिका लागि सहयोग परिचालन गर्ने जनाएको छ । सङ्घीय सरकारसहित सबै तहका सरकारले जलवायु अनुकूलनका सामूहिक प्रयत्न गर्ने उद्घोष गरेका छन् ।
सगरमाथा संवादले राष्ट्रिय समस्याको अन्तर्राष्ट्रियकरण गर्ने छ । अन्तर्राष्ट्रिय अभियानमा नेपालको प्रयत्नको उजागर हुने छ । हिमालदेखि समुद्रसम्मको मानवीय जीवनमा परको असर र त्यसको रोकथामका लागि गर्नुपर्ने कामबारे उद्घोष हुने छ । मानवीय कारणले भएको जलवायु परिवर्तनको असरलाई मानवले नै आफ्नो बानी व्यवहारबाट अनुकूलन बनाउन जोड दिनुपर्ने निचोडमा पुग्न विश्व समुदायलाई आह्वान गर्ने छ । शासकीय क्रियाकलापमा समेत जलवायु अनुकूलनका लागि दबाब दिन, नीतिगत सुधार र प्रभावितलाई क्षतिपूर्ति दिन सगरमाथा संवाद सफल हुने अपेक्षा गरिएको छ ।
सगरमाथा नेपालको गौरवसँगै अग्लो स्थानबाट संसारको ध्यानकेन्द्रित गर्न संवाद समयसापेक्ष नै रहेको छ । राज्यको तयारी, संवादमा छलफल हुने विषयसूची, सहभागीको सक्रियता, संवादको समाचारको कभरेज, संवादमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने रणनीतिलगायतका महत्वपूर्ण विषयको तयारी र कुशल व्यवस्थापनले कार्यक्रम प्रभावकारी हुने छ । अन्तर्राष्ट्रियस्तरको समस्या भएकाले नेपाल जस्ता साना मुलुकले गर्न लागेको कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको सहभागिता बढाउन विशेष पहल गर्नु पर्छ । विश्व समुदायले जलवायु परिवर्तनको प्रतिकूलताविरुद्ध ऐक्यबद्धता हुने अवसर पनि भएकाले प्रभावकारी सहभागितामा जोड दिन आवश्यक छ ।
विश्वमा जलवायु सङ्कट नआओस्, हिन्दकुश हिमालदेखि समुद्रसम्मको मानव जीवन सुखद होस्, जैविक विविधताको प्राकृतिक नियममा बाँधिऔँ र हाम्रो पृथ्वी बचाउन सबैमा जागरण आओस् भन्ने विषयमा सगरमाथा संवादले विश्वलाई जागृत गर्न सक्ने अपेक्षा गरिएको छ । हामी सुखी हुन प्रकृति खुसी हुनु पर्छ भन्ने भावनाको उद्घोष गर्दै संवादले विश्वमा जलवायु अनुकूलनको अभियानमा सबैलाई सचेत गर्ने छ । संवादपछिको माहोल सकारात्मक बनाउने योजनामा सबै लागौँ, जलवायु सङ्कटमा विरुद्ध जागौँ ।