• १६ असार २०८१, आइतबार

बार्सिलोनाको सहज जित

blog

सेल्टा भिगोविरुद्ध गोल गरेपछि बार्सिलानाका पिएरे इमरिक औवामियाङ । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २८ गते । स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३–१ गोलले हरायो । बार्सिलानाको जितमा पिएरे इमरिक औवामियाङको दुई तथा मेम्पिस डिपायले एक गोल गर्नुभयो । 

सेल्टा भिगोका लागो आसपासले सान्त्वना गोल फर्काउनुभयो । बार्सिलोनाले ३०औँ मिनेटमा मेम्फिस डिपायको गोलबाट सुरुवाती अग्रता लिएको थियो । डिपायले औसमाने डेम्वेलेको पासमा गोल गर्नुभएको थियो । ४१औँ मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो ।

४८औँ मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई फराकिलो अग्रता दिलाउनुभयो । त्यसपछि ५०औँ मिनेटमा आसपासले गोल गर्दै सेल्टा भिगोलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर ५८औँ मिनेटमा सेल्टा भिगो १० खेलाडीमा समेटियो । जेइसन मुरिल्लो सोझौ रातो कार्ड पाउँदै बाहिरिएपछि सेल्टाको लय पूरै गुमेको थियो । 

जितसँगै बार्सिलोनाले आफ्नो दोस्रो स्थान थप बलियो बनाएको छ । बार्सिलोनाको ३६ खेलबाट ७१ अंक पुगेको छ । यसअघिनै च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ३५ खेलबाट ८१ अंक छ । पराजित सेल्टा भिगो ४३ अंक सहित ११औँ स्थानमा छ । अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई ३–० र ग्रानाडाले एथलेटिक विल्बाओलाई १–० गोलले पराजित गरेको छ । एजेन्सी