काठमाडौँ, वैशाख ८ गते । संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।
दुई खेलको सिरिजमा सोमबारको खेलमा हार खेपेको नेपाललाई सिरिज जोगाउन आज युएईलाई हराउनै पर्ने दबाब छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा बराबरी गर्नका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । वर्षाले विथोलेको खेलमा सोमबार राति नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।
मंगलबारको खेलमा नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभयो । चार ओभर बलिङ गर्दा लामिछानेले मात्र ६ रन दिएर तीन विकेट लिनुभएको हो । हेमन्त धामीले दुई विकेट हाट पार्दा नन्दन यादव र साहब आलमले एकएक विकेट लिनुभयो ।

युएईका लागि उत्कृष्ट ब्याटिङ गर्दै आकाशदीप नाथले अर्धशतक बनाउनुभयो । उहाँले ४२ बलको सामना गर्दा ५३ रन जोड्नुभएको हो । अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
सिरिजमा १–० को अग्रता बनाएको युएई दोस्रो जित निकाल्दै सिरिज कब्जा गर्ने दाउमा छ । सोमबार नेपालले १८.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय २२ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।
वर्षापछि डकवर्थ लुइस प्रणालीअनुसार १० ओभरमा छोट्याइएको खेलमा ७८ रनको लक्ष्य पछ्याएको युएईले ८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।