• ३ असार २०८२, मङ्गलबार

क्यानभासमा पर्यटकीयस्थल जिरी

blog

टुरिजम प्रमोशन फोरम नेपालले आयोजना गरेको तीनदिने चित्रकला प्रदर्शनीको पहिलो दिन सहभागी अतिथि ।

काठमाडौँ, भदौ २८ गते। क्यानभासमा कैद भएका पर्यटकीयस्थल जिरीका तस्बिर हेरेर नलोभिने कमै होलान्। चित्र नियालेपछि पाका कलाकार रमेश खनालले प्रतिक्रिया दिनुभयो, “आहा ! जिरी साँच्चिकै मनमोहक रहेछ।” बानेश्वरस्थित उमोजा क्याफेमा पर्यटकीय नगर जिरीको सौन्दर्य प्रचार गर्ने उद्देश्यले आजदेखि सुरु भएको ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीमा भेटिएका उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो। 

टुरिजम प्रमोशन फोरम नेपालले आयोजना गरेको तीनदिने चित्रकला प्रदर्शनीको पहिलो दिन आज चित्रकला हेर्ने युवाहरूको पनि त्यत्तिकै घुइँचो थियो। प्रदर्शनीमा दोलखाको जिरीमा रहेका प्राकृतिक, सांस्कृतिक, धार्मीकलगायत स्थानीय जीवनशैलीका रोचक आकृति उतारिएका छन्। कलाकार केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव सिर्पाली गरी छ कलाकारले बनाएका एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी चित्र सिर्जना गर्नुभएको छ।

प्रदर्शनीका संयोजक लीलाराम खड्काले जिरीको सौन्दर्य प्रचार गर्न सकिए आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो। उहाँले कलाकारलाई तीन दिनसम्म जिरीमा राखेर प्रत्यक्ष दृश्यावलोकन गरी देखेका, भोगेका र महसुस गरेका आकृति क्यानभासमा उतार्न लगाएको जानकारी दिनुभयो।  


“पर्यटकमाझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्र्दय, जनजीवन, संस्कृति, वास्तुकला र सम्पदालाई कलाकारले क्यानभासमा उतार्नु भएको छ। यसमार्फत कला र जिरीको सौन्र्दय एकसाथ पस्किन खोजेका छौँ”, खड्काले भन्नुभयो। कुनै बेला सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित जिरी यतिबेला पर्यटक कुरेर बसेको उहाँले सुनाउनुभयो। 

जिरीमा रहेका ताल तलैया, झरना, मठमन्दिर, गुम्बा, प्राकृतिक उद्यान, हिँउ, याक आदि प्राकृतिक दृश्य समेटिएका ३६ थान चित्र प्रदर्शनीमा राखिएका छन्।