• २४ पुस २०८१, बुधबार

जापानिज इन्सेफलाइटिसबाट १४ को मृत्यु, ६१ जना सङ्क्रमित

blog

काठमाडौँ, भदौ २८ गते । नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानिज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये २२.९५ प्रतिशत अर्थात् १४ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितावन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी र  झापा जिल्लाका छन् ।
प्रयोगशालामा पुष्टि भएका बिरामी धेरैजसाे १५ वर्षभन्दा कम उमेरका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजा अनुसार नेपालमा जापनीज इन्सेफलाइटिसका बिरामीहरु पत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुन्छ ।

परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष १०७ जनामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

जापानीज इन्सेफलाइटिस कस्तो रोग हो ?
सरुवा रोज विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

उहाँ भन्नुहुन्छ, “जापानिज इन्सेफलाइटिस सङ्क्रमण लामाखुट्टेको टोइबाट हुने गम्भीर रोग हो । यसले मानिसको स्नायुमा असर पुर्‍य ाइ जीवभर अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने गरेको छ ।”

यो रोग जुनसुकै उमेरका मानिसाई लाग्न सक्छ, तर धेरैजसो १५ वर्ष मुनिका बालबालिकामा देखिने डा.पुन बताउनुहुन्छ ।

यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुरबङ्गुर जस्ता जनावरलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित हुने र त्यसले टोकेमा मानिसलाई यो रोग लाग्ने डा. पुन बताउनुुहन्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग विशेषगरी, साउनदेखि कात्तिकसम्म देखिने चिकित्सक बताउँछन् ।

जापानिज इन्सेफलाइटिसका लक्षण
डा. पुनका अनुसार बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुने, कमपन हुने, पक्षघात हुने यसको प्रमुख लक्षण हुन् ।

यदि यो रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने डा. पुन बताउनुहुन्छ ।

जापानिज इन्सेफलाइटिस् रोगबाट कसरी बच्ने  
चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नुनै यस रोगबाट बच्ने प्रमुख उपाय हो । यो रोगबाट बच्न सधैँ झुलभित्र मात्र सुत्न चिकित्सकको सुझाव छ ।

हाँस, कुखुरा, सँगुर, बङ्गुर, जस्ता घरपालुवा चराचुरुङ्गी तथा जनावरलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खेरमा राखेर सुरक्षित तरिकाले पाल्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीको सुझाव छ ।

उहाँले घर बाहिर निस्कँदा, खेत बारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन डा. बुढाथोकीले अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो रोगबाट बच्न घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ ।”

सरकारले यो रोगको सङ्क्रमणबाट बच्न १२ महिनामा जेई विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमा समावेश गरी निःशुल्क लगाउँदै आएको छ ।  खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन उहाँको आग्रह छ ।