• ६ जेठ २०८१, आइतबार

सुर्खेतको विकासका लागि गठवन्धन सरकारले कुनै कसरत बाँकी राख्दैन : उपसभापति खड्का

blog

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा आयोजित गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस उपसभापति खड्का । तस्बिर : गोरखापत्र

नविन सुवदी 

सुर्खेत, वैशाख २७ गते । नेपाली कांग्रेसका पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको विकासका लागि गठवन्धन सरकारले कुनै कसरत बाँकी नराख्ने  बताउनु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन तीन दिन बाँकी रहेका बेला मंगलबार चुनावी सभालाई सम्बोधन गर्दै खड्काले यस्तो बताउनु भएको हो । 

खड्काले सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट नगरपालिका, सल्यानको वनगाड कुपिण्डे नगरपालिका र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा आयोजति चुनावी सभालाई सम्बोधन गर्नु भएको छ । सुर्खेतको गुर्भाकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि गठवन्धन तयार भएको उल्लेख गर्नुभयो । सभालाई सम्बोधन गर्दै नेता खड्काले भन्नु भयो–‘प्र्रतिगमनकारी कदम, गणतन्त्र विरोधी, लोकतन्त्र र संविधान विरोधी कदमलाई रोक्न कै लागि गठवन्धन भएको हो ।’ 

नेकपा एमालेमा व्याप्त प्रतिगमनलाई सहन नसकेर एमाले पार्टी फुटाएर एकिकृत समाजवादी पार्टी बनाउनु भएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको गठवन्धको सरकार बन्न पुगेको उहाँको भनाई थियो । यो गठवन्धन नेपाली काँग्रेस पार्टीले नबनाएको भन्दै गठवन्धन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार, घमण्ड, संविधान, गणतन्त्र तथा लोकतन्त्र विरोधी गतिविधी संस्थागत गर्दै लोकतन्त्रको आधार स्तम्भलाई जोगान बनेको बताउनु भयो । 

जनताका अधिकारलाई कुण्ठित गर्ने काम एमाले अध्यक्ष ओलीले सुरु गरेको पनि उपसभापति खड्काले बताउनु भयो । गठवन्धन कुनै उम्मेदवारलाई जिताउन नभई संविधानको रक्षाका लागि भएको भन्दै गठवन्धनका उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । नेता खड्काले भन्नु भयो– ‘यदि गठवन्धनको खिलाफमा कोही जान्छ भने त्यस्ता उम्मेदवारलाई काँग्रेसले पार्टीबाट निस्कासन गर्छ ।’ 

यस्तै सुर्खेतको सिम्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले सिम्ता विकासका लागि आफू सँधै प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भन्नु भयो–‘नेपाली कांग्रेसलाई टर्च बालेर खोज्नु पर्छ भन्ने एमाले अध्यक्ष ओली अहिले सडकमा भौतारी रहनु भएको छ ।’ मुलुकमा अमन चयन कायम गर्दै ७० वर्षदेखिको त्यागबाट बनेको संविधान र लोकतन्त्रको रक्षाका लागि गठवन्धन भएको भन्दै उहाँले गठवन्धनलाई जिताए दुई वर्षभित्र पूवी सुर्खेतका बाँकी रहेका सडकहरु चिल्ला हुने प्रतिबद्धता समेत गर्नुभयो ।