सिराज खान
नेपालगन्ज, भदौ २५ गते। बाँके जिल्ला र नेपालगन्ज सहरका लागि छाडा पशुचौपाया नयाँ समस्या होइन। तर, लामो समयदेखि यो समस्याको स्थायी समाधान नगरिंदा दुर्घटना बढ्दै गएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा सडकमा छोडिएका छाडा चौपायाकै कारण १९ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना अन्य गम्भीर घाइते भएका छन्। सोही अवधिमा सडक दुर्घटनामा परी १३ चौपाया मरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
चालु आर्थिक वर्ष ०८१/८२ को हालसम्म छाडा चौपायाका कारण भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। नेपालगन्ज, कोहलपुर र राँझा लगायतका सहरी क्षेत्रमा सडकमा जताततै भेटिने छाडा चौपायाले गर्दा दुर्घटना हुनेक्रम भने रोकिएको छैन। चौपायाका कारण जबजब कुनै दुर्घटना हुन्छ त्यति बेला स्थानीय सरकारले चौपाया व्यवस्थापन गरेको जस्तो गर्ने अनि त्यसपछि चुप लागेर बस्ने गरेको नेपालगन्जका सामाजिक अभियन्ता डा. बिनोद कर्णले बताउनुभयो।
नेपालगन्जका अर्का अगुवा कृष्णप्रसाद श्रेष्ठले यो समस्या उठाउँदा उठाउँदा आफूहरु थाकिसकेको बताउनुभयो। यसैबिच नेपालगन्ज उपमहानगरपालिकाले फेरि छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ। रत्न राजमार्गको कोहलपुर नेपालगन्ज खण्डमा चौपायाकै कारण सडक दुर्घटना बढ्न थालेपछि स्थानीय प्रशासनको सहयोगमा फेरि पनि व्यवस्थापन सुरु गरिएको नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो।
उहाँले उपमहानगरपालिका–२१ स्थित विर्तामा निमार्ण गरिएको गौशालामा छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालिएको जनाउँदै ३५ लाख रुपियाँको लगानीमा निर्माण गरिएको सो गौशालामा गाइगोरु र घोडासहित १२६ चौपाया राखिएको जानकारी दिनुभएको छ।