• ९ पुस २०८१, मङ्गलबार

तिजको मौलिकता जोगाउन चुनौती

blog

       सालको पात टिपेर नलाऊ आमा टपरी 

हाम्ले बिहे गरिँदैन मनै नपरी 

हलहली मकै बढ्यो त्यही बारीको हावाले 

  कस्तो घर रोजेर दिन्छौ बाबाले ।

स्तुत गीतका हरफ त्यतिबेला गाइएका हुन्, जतिबेला छोरीहरू बिहेबारे आफ्ना अभिभावकसँग खुलेर बोल्न सक्दैनथे । आफ्ना आमाबाबुले जुन र जस्तो मानिससित विवाह गरिदिन्थे उनीहरूसँगै चुपचाप जीवन बिताउनुपथ्र्यो, चाहे जस्तोसुकै सम्झौता गर्न किन नपरोस् । बोल्नका लागि छोरीहरूसित आवाज थिएनन्, आफ्ना कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण थिएन । आफूमाथि भएका अन्याय र अत्याचारविरुद्ध बोल्ने साहस थिएन, त्यतिबेला विद्रोहको एउटा मात्रै माध्यम थियो– तिजका गीत । विवाहित छोरीचेलीले आफ्नो कर्मघरमा भोगेका दुःखकष्ट, विभेद र अन्याय गीतका माध्यमबाट माइतीसामु प्रस्तुत गर्थे, जसले मनोरञ्जनसँगै शिक्षा पनि दिन्थ्यो । 

एक समय थियो, शिक्षाको अवसर केबल पुरुषलाई प्राप्त थियो । छोरीहरू लेखपढको अवसरबाट वञ्चित थिए । आफूले नपढेकै कारण लोग्ने र परिवारका अन्य सदस्यले गर्ने व्यवहार, अपमान तिरस्कारबाट आहत भएर छोरीलाई नपढाउने बाबुआमालाई गीतबाटै यसरी व्यङ्ग्य कस्थे :

नपढेकी छोरीलाई पढेकालाई दिनुभो 

यति कुरा बाबाले पाप लिनुभो । 

अङ्गे्रजीमा भन्दा रैछन् पानीलाई वाटर 

नबुझेर दिएँ मैले काँचो कटर ।

न आफूले पढियो न त बाउले पढाए

  के छ इच्छा सोधेनन् डोली चढाए ।

अविवाहित छोरी आफ्नो हुनेवाला श्रीमान्सक्षम होस्, विवाह गरेर जाने घरमा आफ्नो सम्मान होस्, सुख सुविधा होस् भन्ने चाहन्थे । घाँसदाउराका लागि टाढा धाउन नपरोस्, लेकबेँसी गर्न नपरोस्, अन्धकार छिचोल्दै पानी बोक्न टाढाटाढा धाउन नपरोस् भन्ने चाहना हुन्थ्यो तर आफ्ना कुरा अभिभावकसँग सोझै व्यक्त गर्न सक्दैनथे र यस्ता गीतको सहारा लिन्थे : 

केटो हेर्नू बाबाले निकै छाँटकाँटको 

खेतबारी हेर्नू बाबा सम्म फाँटको । 

पानी बोक्न नपरोस् दैलादैला पँधेरो 

कोठाकोठा बिजुली नहोस् अँधेरो ।

महिलाले लेखपढ गर्ने अवसर नपाएका र घरगृहस्थीबाट माथि उठ्न नसकेका, आफ्नो हक अधिकारबारे बोल्न नसकेका महिलाले गीतका माध्यमबाट चेतनाको दियो बाल्थे । हामीले गर्न नसक्ने केही छैन, हामीमाथि भएका अन्याय, अत्याचार, दमनविरुद्ध हामीले नै आवाज उठाउनु पर्छ भन्ने हुन्थ्यो । हामी पनि राज्यको नेतृत्व तहमा पुग्न सक्छौँ, आफ्नो हक अधिकारका लागि बोल्न अब ढिलो गर्नुहुँदैन भनेर गीतकै माध्यमबाट महिला दिदीबहिनीलाई यसरी आह्वान गरिन्थ्यो :

उठौँ जागौँ दिदीबैनी अब ढिला भैसक्यो

अन्याय र अत्याचारले जालो लाइसक्यो ।

कति बस्छौ अन्यायमा भित्रभित्रै रोएर

कति बस्छौ सामन्तीको दासी भएर ?

अरू देशका नारीहरू रकेट चढी चन्द्रमा

हाम्रा देशका नारीहरू मस्त निन्द्रामा । 

नारी अधिकारका आवाजसँगै त्यतिबेलाका गीतमा विद्रोहका स्वर पनि चर्को रूपमा बुलन्द हुन्थे । समाजको कलङ्क बनेर बसेको दाइजो प्रथाले आहत भएर भित्रभित्रै पिल्सिएका नारीलाई विद्रोह गर्न र स्वाभिमानपूर्ण जीवन बाँच्न गीतैबाट अनुरोध गरिन्थ्यो । विवाहमा दाइजोका रूपमा मोटरगाडी माग्ने केटालाई बेहुलीले विवाहमण्डपमै दिएको जवाफलाई गीतमा यसरी बुनिएको छ : 

सम्पत्तिले नपुगे लैजा भैँसी तानेर

बसिँदैन मगन्तेलाई लोग्ने मानेर ।

त्यसलाई दिने सम्पत्तिमा बस्छु बरु पढेर 

सिन्दुर हाल्छ, त्यही मोटरलाई जान्छ चढेर । 

अहिलेका शिक्षित र चेतनशील मानिएका महिलाले समेत प्रत्यक्ष रूपमा दाइजो प्रथाको विरोध गर्न नसकेको अवस्था छ । यसलाई अपनाएरै अगाडि बढिरहेको सन्दर्भमा आजभन्दा दशकौँ अगाडि नै तिजका गीतमा दाइजो प्रथाविरुद्धमा गीतैबाट आगो ओकल्नु चानचुने कुरा होइन ।

त्यस समयका तिज गीतमा महिलाका सवाल मात्रै होइन, समाजमा भए गरेका विभिन्न विकृति विसङ्गतिप्रति व्यङ्ग्यको झटारो हानेर समाज रूपान्तरणका लागि शङ्खघोषसमेत गरिन्थ्यो । शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई गीतको यस पङ्क्तिले मार्मिक व्यङ्ग्य प्रहार गरेको छ : 

महिनाको तीन चोटि जान्छन् मास्टर पोखरा 

दस पढेका विद्यार्थीले बिर्से कखरा । 

त्यस्तै गरी आधुनिकतासँगै भित्रिएको फेसन संस्कृति र त्यसले युवा वर्गमा पारेको प्रभावलाई यसरी व्यङ्ग्य गरिएको हुन्थ्यो ः

छ सयको पाइन्टलाई घुँडाघुँडा काटेर

केटा पनि हिँड्न थाले कपाल बाटेर । 

तीन सयको पाइन्टलाई छ सयमा सिलाउनी 

बोल्नभन्दा अगाडि कपाल मिलाउनी । 

ब्राह्मण समाजको सांस्कृतिक स्खलन र बढ्दो विकृतिलाई गीतका माध्यमबाट यसरी व्यङ्ग्य गरिन्थ्यो :

थकाल्नीले रक्सी पार्छे चमचीले चाखेर

आहो आहो बाहुन बाजे जनै राखेर ।

छ सराको जनैले यति दुःख दिएको 

ठाडो घाँटी लाएर रक्सी पिएको ।

अचेल यसरी विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका, नारी समानताका लागि आवाज उठाइएका तिज गीत सुनिन छाडेका छन् । अचेलका तिज गीत सुन्न कम र हेर्न बढी थालिएसँगै पूर्ण रूपमा व्यापारिक बन्दै गएका छन् । आजकालका अधिकांश गीतमा शृङ्गार, सौन्दर्य, वस्त्राभूषण, शरीरको सजावट, खानपान, प्रेमजस्ता विषयले मात्रै प्राथमिकता पाउन थालेका छन् । गीत मिठो खाने, राम्रो लाउने, राम्री हुनेभन्दा माथि उठ्न सकेका छैनन् । यही होडमा महिलाले आफूलाई खानलाउनमै सीमित गर्न थालेका छन् । कसरी अरूभन्दा राम्री देखिने भन्ने प्रतिस्पर्धाले आफ्नै शरीरको वस्तुकरण हुँदै गएको पत्तै पाएका छैनन् । यसले देशको अर्थतन्त्रमा पारेको ऋणात्मक प्रभावप्रति कसैको चासो र चिन्ता छैन । 

अहिलेका कतिपय गीत समाजमा अपाच्य तथा भद्दा शब्द र दृश्यको प्रयोगले परिवारबिचमा बसेर हेर्न र सुन्न नसकिने बन्दै गएका छन्, जसले तिज गीतको मौलिकतामाथि प्रश्नचिह्न मात्रै खडा गरेको छैन, यसको मौलिकता संरक्षणमा समेत चुनौती थपिएको छ । तिज गीतको आफ्नै छुट्टै लय छ, गाउने छुट्टै शैली छ, गीतमा व्यक्त हुने फरक भाव र संवेदना छ । तर आजकाल बजारमा आएका अधिकांश गीतमा न लय छ, न भाव छ, न संवेदना छ, छ त केवल उत्ताउला हाउभाउ, अश्लील दृश्य तथा द्विअर्थी शब्द । तिजको सांस्कृतिक महत्व, गीतको मौलिकता तथा लोकजीवनलाई बेवास्ता गरेर केवल व्यापारिक प्रयोजनले बजारमा ल्याइएका यस्ता भड्किला गीतले समाजमा पार्ने नकारात्मक प्रभावबारे बेलैमा सचेत हुनु जरुरी छ । 

समय परिवर्तनशील छ । समयसँगै धेरै कुरा परिवर्तन भएका छन् । अब हिजोको जस्तो अवस्था रहेन । समयसँगै जीवनशैली फेरिएको छ, सुखदुःखका परिभाषा पनि फेरिएको छ । जीवनमा आएको परिवर्तन र मानिसका भोगाइ अनुसार गीत सङ्गीत परिवर्तन हुनु नौलो कुरा होइन । अबका तिज गीतमा पनि चेलीका दुःख, पीडा तथा बिलौनै व्यक्त हुनु पर्छ भन्ने होइन । तर तिजका नाउँमा आएका विकृत तथा समाजलाई भड्काउने तथा तिजको सांस्कृतिक तथा सामाजिक मर्यादामा आँच आउने किसिमका भड्किला विषय र दृश्यमाथि भने प्रतिबन्ध लाग्नै पर्छ । 

महिलामाथि हुने लैङ्गिक विभेद कायमै छ, महिला हिंसाका घटना घटिरहेका छन् । महिलामाथि हुने गरेको शोषण, दमनबारे हामी अनभिज्ञ छैनौँ । समाजमा जातीय विभेद, छुवाछूत, वैदेशिक रोजगारीले निम्त्याएका समस्या तथा मातृभूमिबाट टाढिनुपर्दाका पीडा, संवेदना, युवा पलायन, आधुनिकतासँगै भित्रिएका विकृति र मौलिक संस्कृति संरक्षणमा चुनौती छ । भ्रष्टाचारको जालोले देश दिनानुदिन डरलाग्दो खाडलमा भासिँदै गएको छ । 

बलात्कारजस्तो जघन्य आपराधिक गतिविधि बढेका छन् । निर्मला पन्तहरूका लागि न्यायको आवाज उठाउनुपर्ने छ । अबका तिज गीतमा यस्ता विषय उठ्नु जरुरी छ । गीतका माध्यमबाट समाजमा चेतना फैलाउन र विकृति विसङ्गतिको विरोध गर्दै स्वच्छ, सुसंस्कृत र समुन्नत समाज निर्माणको चाहना व्यक्तिनु पर्छ । तिजको गीतलाई कस्तो बनाउने ? कसरी अगाडि बढाउने ? भन्ने विषय यसका सर्जक र गायकमै निर्भर हुने भएकाले अब सर्जक, गायक तथा गीतका निर्माता यसतर्फ सचेत हुनु पर्छ । अनि मात्रै आगामी पुस्तामा तिज गीतप्रति सकारात्मक धारणा विकास गर्न सकिन्छ र तिज पर्वको मौलिकता जोगाउन सकिन्छ । 

   

Author

सावित्रा पाण्डे