• १७ भदौ २०८१, सोमबार

पर्यटन नीति परिवर्तन गर्ने सङ्घारमा छौँ : पर्यटनमन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे । फाइल तस्बिर, गोरखापत्र ।

काठमाडाैँ, भदाै १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ । सोमबार ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ साधारण सभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । 

उहाँले सरकार पर्यटन नीति परिवर्तन गर्ने सङ्घारमा रहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । 

कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको उल्लेख गर्दै संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मात्रै नभएको बताउनुभयो । उहाँले पर्यटन मन्त्रालय भूमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको बताउनुभयो । 

यस्तै, पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रको सक्रियता बिना मुलुकको पर्यटन क्षेत्रको विकास नहुने बताउनुभयो । उहाँले मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउने बताउनुभयो । मन्त्री पाण्डेले मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, "अहिले पर्यटन क्षेत्रमा चुनौती देखिएको छ । पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक छ । संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन । निजी क्षेत्रको पनि मन्त्रालय हो । भूमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव छ । निजी क्षेत्रको प्रोएक्टिभ ढङ्गले अग्रसरताका साथ यो मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन । मुलुकको पर्यटन क्षेत्रको विकास हुँदैन। मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउँछौँ । मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढ्नेछ । निजी क्षेत्रले काम गर्दा सरकारले बनाएका नीतिमा भएका समस्यालाई परिमार्जन गर्न सहयोग गर्नुस् । सरकार पर्यटन नीति परिवर्तन गर्ने सङ्घारमा छ । संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको छ । त्यसमा पनि निजी क्षेत्रका सुझावहरू आउन् ।"

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सरकारले अहिले पनि रफ्तार समाउन नसकेको बताउनुभयो । उहाँले पर्यटनमन्त्री मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकाले केही काम हुन नसकेको बताउनुभयो । उहाँले मन्त्रीहरू ५० दिनसम्म अध्ययन मात्रै गरेर बस्दा प्रधानमन्त्रीले सोचे जस्तो काम हुन नसकेको उल्लेख गर्नुका साथै सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरूले भने जस्तो काम गर्न सकेको स्वीकार गर्नुभयो । उहाँले सबै मन्त्रीहरूले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, "सरकार अहिले पनि रफ्तार समाउन सकेको छैन । सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरूले भने जस्तो काम गर्न सकेका छैनन् । सबै मन्त्रीहरूले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रले नै मुलुकमा युवाहरूलाई रोक्न सक्छ ।"

उहाँले पछिल्लो समय विदेश पलायन भइरहेका युवालाई रोक्नको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।