• १६ भदौ २०८१, आइतबार

पारालिम्पिकः पलेशालाई कांस्य पदक

blog

काठमाडौँ, भदौ १५ गते । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् । 

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१(० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कांस्य नजिक पुगेकी थिइन् । 

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् । 

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

यसैगरी  सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।