• १६ भदौ २०८१, आइतबार

चित्रबहादुर केसीलाई प्रश्न : सांसदको जिम्मेवारी के हो ?

blog

काठमाडौँ, भदौ १५ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपालका माननीय विकासका ठेकेदार मात्र बनेको टिप्पणी गर्नुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै उहाँले सम्बन्धित निकायले जिम्मेवारी नलिँदा नियम र कानुन बनाउन जनताको मत पाएर आएका माननीय विकास माग्दै कर्मचारीको कोठाकोठामा गएर कपाल कनाउनुपर्ने बाध्यता रहेको बताउनुभएको हो। ‘‘सांसदको पीडा छ। वास्तवमा नेपालका माननीय भनेका विकासका ठेकेदार हुन्। उनीहरूलाई ऐन, कानुन र नियम बनाउने कुरा गौण र विकास निर्माण प्रदान हुन्छ । सम्बन्धित निकायले काम नगरेकै कारण  नियम, कानुन बनाउन आएको माननीय कर्मचारीको कोठाकोठामा जानुपर्ने बाध्यता छ।’’

वि.सं. २०५६, २०६४, २०७० र २०७९ मा सांसद बन्नुभएका केसी सादगी नेताका रूपमा परिचित हुनुहुन्छ। वि. सं. १९९७ साल माघ १६ गते बुवा नरीश्वर शर्मा र आमा पार्वती केसीको कोखमा बागलुङमा जन्मनुभएका केसीको नागरिकता एक वर्ष जेठो छ। उहाँको नागरिकतामा जन्म मिति  १९९८ माघ २० गते उल्लेख छ। उहाँले २०१९ सालमा काठमाडौँबाट नागरिकता बनाउनुभएको हो। केसीको स्थायी ठेगाना रुपन्देही जिल्लाको तिलोत्तमा हो। अहिले उहाँ काठमाडौँको बुढानीलकण्ठ नगरपालिका १० को कपनस्थित ज्योतिनगरमा बनेको जनमोर्चाको पार्टी कार्यालयमा बस्नुहुन्छ।  

वि.सं. २०१४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गर्नुभएका केसीकै नेतृत्वमा २०२१ सालमा नेकपा बागलुङ गठन भएको हो। उहाँ बागलुङमा शिक्षण गर्दै राजनीतिमा सक्रिय हुनुभयो। २०२८ सालमा गिरफ्तार भएर ९ महिना बागलुङ र पोखरामा जेल जीवन बिताउनुभयो। त्यसपछि पुनः उहाँ शिक्षण पेसामा संलग्न हुनुभयो। बागलुङमा उहाँले शिक्षण पेसामा रहँदा प्रधानाध्यापकसम्म बनेर काम गर्नुभयो। उहाँले जुन स्कुलमा अक्षर चिन्नुभयो त्यही गलकोट विद्यालयमा प्रधानाध्यापक बन्नुभएको हो । । उहाँ २०३० सालसम्म शिक्षण पेसामा संलग्न हुनुहुन्थ्यो।

२०३१ सालमा गठन भएको नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य बन्नुभयो। त्यसपछि केसी पूर्ण भूमिगत रहेर भारतका विभिन्न स्थानमा नेपाली मजदुर र विद्यार्थी सङ्गठन निर्माणमा सक्रिय हुनुभयो। २०४० सालमा नेकपा (मशाल) को महामन्त्री बन्नुभएका केसी त्यसपछि लामो समय मशालको राजनीतिमा सक्रिय हुनुभयो। २०४६ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा मार्फत् जनआन्दोलनमा सहभागी हुनुभएका केसी पहिलो पटक २०५१ सालको संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभयो। २०५२ सालमा राष्ट्रिय जनमोर्चाको गठनदेखि उहाँ लगातार पार्टी अध्यक्ष हुनुहुन्छ। २०६६ साल चैतमा काठमाडौँमा सम्पन्न संघीयताविरुद्धको राष्ट्रिय अभियानको अधिवेशनबाट निर्वाचित अध्यक्ष बन्नुभएका केसी २०७८ मा सम्पन्न चौथो महाधिवेशनमा पनि अध्यक्ष निर्वाचित हुनुभएको हो। उहाँ विगत ३० वर्षदेखि लगातार जनमोर्चाको अध्यक्ष हुनुहुन्छ। २०५१ सालमा बागलुङ क्षेत्र नम्बर २ बाट पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बन्नुभएका केसी झिनो मतले पराजित हुनुभयो । २०५६ सालमा उहाँ पहिलो पटक सांसद बन्नुभएको हो।  त्यसपछि २०६४, २०७० र २०७९ गरेर उहाँ चार पटक सांसद बन्नुभएको छ। 

उहाँले अहिलेसम्म २०६४ सालमा लेखा समिति सभापति (९ महिना) २०७२ कात्तिकदेखि–२०७३ असारसम्म उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्री (९ महिना), २०७९ सांसद निर्वाचित भएपछि ज्येष्ठ सदस्यको नाताले संसदीय नियमावली समितिको अध्यक्ष (२ महिना) र २०८० सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि (६ महिना) गरेर ६७ वर्षको राजनीतिक यात्रामा २६ महिना सरकारी सरकारी गाडी र सुविधा लिनुभयो।  उहाँको विशेषज्ञता शिक्षक र कम्युनिस्ट राजनीतिमा केन्द्रित छ। उहाँको ‘संसदमा एक दशक (२०५६-२०६७) पुस्तक प्रकाशित छ। उहाँले चीन, अमेरिका, बेलायत, जापान, उत्तर कोरिया र दक्षिण कोरियाको भ्रमण गर्नुभएको छ। नेपालका धेरै राजनीतिज्ञमध्ये पुराना कम्युनिस्ट नेता र सादा जीवनमा दैनिकी बिताउने केसीलाई धेरैले सादा जीवनका पर्यायका रूपमा चिन्ने गर्दैछन्। प्रस्तुत छ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बागलुङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीसँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको कुराकानीका आधारमा तयार ‘सांसदलाई सवाल’