• १६ भदौ २०८१, आइतबार

चरा संरक्षण गर्न विद्यालयमा जनचेतना

blog

वराहक्षेत्र समाचारदाता 

वराहक्षेत्र, भदौ ११ गते  । कोशीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदान तथा सिमसार क्षेत्रमा आश्रित चरा संरक्षणका लागि विद्यालयस्तरीय सचेतना शिक्षा सुरु गरिएको छ । आरक्ष क्षेत्रमा चरा कम देखिन थालेपछि नेपाल पन्छी संरक्षण सङ्घको सहयोगमा कोशी पन्छी समाजले जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो । 

मधुवनस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चरा संरक्षणका लागि शिक्षा दिइएको समाजका अध्यक्ष चव्रm तिम्सिनाले बताउनुभयो । घाँसे मैदान र सिमसार क्षेत्रमा मात्र पाइने चरा कम हुँदै जान थालेपछि संरक्षणका लागि विद्यालय तहबाटै जनचेतना जगाउन सुरु गरिएको उहाँ बताउनुहुन्छ । 

विश्वमै लोपोन्मुख अवस्थामा रहेको खरमजुरलगायतका एक दर्जन चराको संरक्षण गर्न स्थानीयस्तरमा जनचेतनामूलक कार्यव्रmम सुरु गरिएको छ । सुक्खा घाँसे मैदानमा बस्ने खरमजुर विश्व भूगोलबाटै लोप हुँदै जान थालेपछि संरक्षणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो । 

कोशीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदान र सिमसार क्षेत्रमा पाइने बगाले बगेडी, भुँडीफोर गरुड, काँसे घाँसेचरी, घेघरी घाँसेफिस्टो, लघुकर्ण लाटोकोसेरो, सानो कड्कम चिल, माछाकुल, सिमतित्रा, गाजले धावक, सइरोपुच्छे« र हरिहाँस रहेका छन् । 

चरा संरक्षणमा जुटेका अभियन्ता घाँसेमैदान र सिमसार क्षेत्रमा पाइने चराको वासस्थानलाई प्राथमिकतामा राखेर स्थानीयलाई चरा संरक्षणका बारेमा बुझाउन जनचेतनामूलक कार्यव्रmम गर्दै आएका छन् । स्थानीयस्तरमा रहेका सङ्घ संस्थासँग सहकार्य गरेर संरक्षणको कामलाई अगाडि बढाइएको अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो । 

एक दशकयता कोशीटप्पुमा पाइने चरा घट्दो व्रmममा छन् । खेतबारीमा हाल्ने विषादीले गर्दा चराको प्रजनन क्षमता घट्दै गएको बताइन्छ । किसानले खेतबारीमा हालेको विषादीका कारण मरेका किरा फट्याङ्ग्रा खाएर चराको प्रजनन क्षमता कमजोर हँुदै गएको जानकार बताउँछन् ।

नेचर गाइडसमेत रहनुभएका तिम्सिनाका अनुसार आरक्ष क्षेत्रमा भएका ठुला सिम क्षेत्र, ताल र साना खोल्सा हिउँदमा सुक्दै जानुले पनि चराको वासस्थान घट्दै गएको छ । वासस्थान घट्दै गएसँगै जल र घाँसे मैदानमा निर्भर चराको सङ्ख्या घट्दै गएको उहाँ बताउनुहुन्छ । 

घाँसे मैदान घट्दै जाँदा आश्रित चराको वासस्थान सङ्कटमा पर्दै आएको छ । पछिल्ला समय चराको रहनसहन र वासस्थानमा वातावरणीय प्रभाव पर्दा चरा सङ्कटमा परेको हो ।  

घाँसे मैदानमा बस्ने चराको वासस्थानमा घरपालुवा जनावरको चरिचरन बढ्नु जस्ता गतिविधिले पनि संरक्षणमा चुनौती थपिँदै गएको छ । घाँसे मैदानमा मानव सिर्जित डढेलो, चरा विद्युतीय प्रसारण लाइनसँग जुध्नु र चराको वासस्थानमा मिचाहा प्रजातिका वनस्पति फैलिँदै जानुले घाँसे मैदान र सिमसार क्षेत्रमा आश्रित चरा सङ्कटमा पर्दै गएका छन् ।