• १ साउन २०८२, बिहिबार

छुट्टियो फेवाको तालघर, गाडिए ६११ पोल

blog

फेवाको तालघरमा पोल गडिँदै । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, साउन १ गते ।
पर्यटन राजधानी पोखराको फेवातालमा पानीको उच्च सीमा (फ्लोड लेभल) छुट्टिएको छ । बर्खामा पानीको उच्च सीमा पहिचान गरी ताल परिधिको करिब १६ किलोमिटरमा छ सय ११ भौतिक पोल गाडेर ताल क्षेत्र (तालघर) यकिन गरिएको हो ।

तीन तहकै सरकारका प्रतिनिधिले गएको जेठ १७ गते संयुक्त रुपमा तालको सीमामा पोल गाड्न सुरुआत गरेकोमा बुधबार सबै पोल गाडिसकिएको हो । प्राविधिक टोलीले पहिचान गरेका स्थानमध्ये पोल गाड्न सकिने ठाउँहरुमा गाडिसकिएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

“भिरालो भूभागमा आवश्यक चिन्हसहित डेढ महिनामा पोल गाडिसकेका छौँ,” प्रमुख आचार्यले भन्नुभयो, “सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको समन्वयमा महानगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनसमुदायको सक्रियता काम भएको छ ।”

पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले एक हजार पचपन्न स्थान प्राविधिक टोलीले पहिचान गरेकोमा भौतिक पोल गाड्न सकिने स्थानमा पोल गाडिसकिएको बताउनुभयो । पानीमा परेका, डिल, भीरमा रहेका बाँकी स्थानमा आवश्यक चिन्ह राखिएको उहाँको भनाइ छ ।

अब दोस्रो चरणमा तालघर क्षेत्रमा परेका तथा मापदण्डको ६५ मिटरभित्रका जग्गाका कित्ताको वर्गीकरण गर्ने तयारी छ । यो क्रममा मुआब्जा पाउने जग्गा र दूषित जग्गा यकिन हुनेछन् । तेस्रो चरणमा मुआब्जा योग्य जग्गाको क्षतिपूर्ति दिन सिफारिस गर्ने तयारी छ । प्रमुख आचार्य भन्नुहुन्छ, “जग्गाधनीहरुले मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिनेछ ।”

यसअघि नै फेवातालको बाँध फुटेका बेला व्यक्तिले दर्ता गरेका जग्गाहरुलाई दूषित मानी खाली गर्न सर्वाेच्चले आदेश दिइसकेको छ । फेवाको मापदण्डभित्र चार हजार पाँच सयभन्दा बढी कित्ता देखिन्छन् । फेवाताल प्राकृतिक र मानवीय दुवै थरी अतिक्रमणको चपेटामा छ । विभिन्न व्यक्ति र संस्थाहरूले समेत तालको मापदण्ड मिचेर घर, होटल तथा अन्य व्यावसायिक संरचना बनाएका छन् । सर्वोच्च अदालतले २०७५ सालमा फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न, तालको चार किल्ला तोकेर सीमाङ्कन गर्न र अतिक्रमण गरी बनाइएका सबै अवैध संरचनाहरू भत्काउन सरकारका नाममा परमादेश दिएको थियो ।