• १ साउन २०८२, बिहिबार

शिक्षक ऐन तत्काल जारी गर्न सरकारलाई महरको आग्रह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर।

काठमाडौँ, असार ३२ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्नुभएको छ। उहाँले ऐनको अभावमा समग्र शैक्षिक क्षेत्र नै अनिर्णयको बन्दी बनेको र यसले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको बताउनुभयो।

सामुदायिक विद्यालय कर्मचारी संघले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रव्यापी शैक्षिक साङ्गीतिक यात्रा २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महरले उक्त माग राख्नुभएको हो। उहाँले भन्नुभयो, “सरकारले शिक्षक महासंघसँग सम्झौताको मसी सुक्न नपाउँदै त्यसबाट पछि हट्न खोज्नु दुर्भाग्यपूर्ण र शैक्षिक क्षेत्रप्रतिको गैरजिम्मेवारपन हो।’’ 

उहाँले विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको पेसागत सुरक्षा र सम्मानका लागि पार्टीले सधैँ आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले आयोजना गरेको यो राष्ट्रव्यापी अभियानले एकातिर संगीत र कलाको माध्यमबाट विद्यार्थीलाई लागुऔषध दुर्व्यसनविरुद्ध सचेत गराउने र अर्कोतिर नीतिगत तहमा शैक्षिक सुधारका लागि दबाब सिर्जना गर्ने दोहोरो उद्देश्य बोकेको छ।

संघका अध्यक्षले विद्यालय कर्मचारीलाई शिक्षा ऐनले लामो समयदेखि बेवास्ता गरेको गुनासो गर्दै प्रस्तावित ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामी विद्यालयका मेरुदण्ड हौँ, तर हामीलाई नै ऐनले नचिन्दा हाम्रो भविष्य अन्धकार भएको छ। शिक्षक र कर्मचारीका माग सम्बोधन नभएसम्म गुणस्तरीय शिक्षा केवल नारामा सीमित हुन्छ।”

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो।