काठमाडौँ, साउन १ गते । तिरहुत टाइगर्सले सप्तरी प्राइड क्रिकेट लिग उपाधि रक्षा गरेको छ ।
सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा बिहीबार भएको फाइनलमा राजविराज राजदेवी रोयललाई नौ विकेटले हराउँदै तिरहुत टाइगर्सले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
जितका लागि ९३ रनको सामान्य लक्ष्य पाएको तिरहुत टाइगर्सले १५.३ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
तिरहुत टाइगर्सका लागि ओपनर भोला शाहले अविजित अर्धशतक बनाउनुभयो । यस्तै निरज यादवले १८ र अभिनाश कर्णले १३ रन बनाउनुभयो । बलिङमा राजदेवी रोयलका नितेश यादवले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा नौ विकेटको क्षतिमा ९२ रन मात्र बनाएको थियो ।
रोयलको लागि रोहन विकले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै अभिषेक तिवारीले १९ र जितु यादवले अविजित १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा टाइगर्सका श्रवन यादवले सर्वाधिक तीन विकेट लिनुभयो । चित्रबहादुर विष्ट र अनिल यादवले दुई दुई तथा राहुल मण्डल र अजय यादवले एक एक विकेट लिनुभयो ।
उपाधि सँगै तिरहुत टाइगर्सले दुई लाख रुपियाँ पायो । उपविजेता राजविराज राजदेवी रोयलले एक लाख रुपियाँ पायो । राजविराज राजदेवी रोयलका दिवान पुन उत्कृस्ट खेलाडी हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
उत्कृष्ट ब्याट्सम्यान तिरहुत टाइगर्सका भोला शाह, बलर चित्रबहादुर विष्ट र रोयल तिरहुत टाइगर्सका अनिल यादव उदयमान खेलाडी हुनुभयो । उत्कृष्टलाई जनहस् १५ हजार रुपियाँ प्रदान गरियो । सप्तरी क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।