• १ साउन २०८२, बिहिबार

'भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ'

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे।

झापा, असार ३२ गते। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ। 

अर्जुनधारा नगरपालिकामा आज अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदबाट भूमिसम्बन्धी नयाँ कानुन निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताउनुभयो। 

उहाँले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व मँहगाे भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गर्नुभयो। वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको बताउनुभयो। 

“धेरै सुकुम्वासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,” उहाँले भन्नुभयो, “कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ।” उहाँले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको चर्चा गर्नुभयो।

अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई आज जग्गाको धनीपूर्जा वितरण गरिएको छ। सभामुख घिमिरेले अव्यवस्थित बसोवासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गर्नुभएको थियो।