काठमाडौँ, साउन १ गते । एपिएफ क्लबलले एन्फा यु–१६ युथ लिगमा त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ ।
एन्फा मैदान सातदोबाटाेमा बिहीबार भएको खेलमा एपिएफले विभागीय प्रतिस्पर्धी आर्मीलाई ३–१ गोलले हरायो । एपिएफको जितमा सुशान्त जिएम, आदर्श मिचि र प्रशिशा खनालले गोल गर्नुभयो । आर्मीका लागि शोहित वाइबाले सान्त्वना गोल फर्काउनुभयो ।
अर्को खेलमा सङ्कटा क्लबले प्लानिङ ब्वाइजलाई ४–१ गोलले पराजित गर्यो । सङ्कटाको जितमा प्रज्वलकुमार लुर्मीले ह्याट्रिक पूरा गर्नुभयो । अर्को गोल कुलदिप तितुङले थप्नुभयो । प्लानिङका लागि रविन लुङ्गेलीमगरले सान्त्वना गोल फर्काउनुभयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।
यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।