• १ साउन २०८२, बिहिबार

सिद्धबाबा सुरुङमार्गले गति लिँदै

blog

सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग ।

भैरहवा समाचारदाता 

भैरहवा, साउन १ गते । बुटवल–तानसेन सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङले पछिल्लो समय गति लिएको हो । केही महिनाअगाडि यो सुरुङमार्गको अन्तिम छेदन (ब्रेक थ्रु) भएको थियो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्गको काम ‘ब्रेक थ्रु’ भएपछि तीव्र गतिमा अगाडि बढेको हो ।

सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्गको हालसम्मको भौतिक प्रगति ५७.५१ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१.१ प्रतिशत रहेको छ । आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) को निर्माण सकिएको छ । 

इन्जिनियर ज्ञवालीले दायाँबायाँ लेपन (लाइनिङ) को ८३४ मिटर काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुरुङमार्गभित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ । ज्ञवालीले भन्नुभयो, “सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ  । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ । सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ ।” 

आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुने छ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । उहाँले इन्भर्ट र लाइनिङको काम सकेपछि एक/दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने बताउनुभयो  ।

उहाँले सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारी साधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको बताउनुभयो । सुरुङमार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमनसमेत हुँदै आएको छ ।

प्रतिनिधि सभाका सांसद ठाकुरप्रसाद गैरेले सुरुङमार्गको कामलाई निर्धारित समयमा सम्पन्न गर्न/गराउन, जनप्रतिनिधिले गर्नुपर्ने आवश्यक सहयोगका लागि अनुगमनमा आएको बताउनुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो ।

यो आयोजन अन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र अन्तर्गत पर्छ  । इन्जिनियर ज्ञवालीले सुक्खायाममा पनि धुलेपहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार यस सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने कुरालाई विगतका निर्वाचनमा चुनावी एजेन्डा नै बनाउनुभएको थियो । उहाँ अर्थमन्त्री भएकै समयमा सुरुङमार्गका लागि बजेटको स्रोत सुनिश्चितताको घोषणा गर्दै आयोजना अघि बढाउनुभएको थियो ।