नागेन्द्रकुमार कर्ण
महोत्तरी, साउन १ गते । मटिहानी नगरपालिका–२ धिरापुर बस्ने रामकृपाल ठाकुर मटिहानी बजारबाट दुई दर्जन मिनरल वाटर घर लिएर आउनुभयो । घरमा कुनै पूजापाठ वा आफन्त आएको नभई घरमा खानेपानीको समस्या समाधान गर्न अहिले उहाँ मिनरल वाटर प्रयोग गर्नुहुन्छ ।
घरमा दुई दुईवटा चापाकल र बिजुली मोटर लागेको छ तर केही समयदेखि त्यहाँ पानी नआएकाले किनेर खानुपर्ने बाध्यता रहेको ठाकुरले बताउनुभयो ।
घरमा पालिएको पशुहरुका लागि छिमेकीको घरमा पानी ल्याउँछु भने आफुहरु अहिले मिनरल वाटर किनेर खाइरहेको बताउनुहुँदै ठाकुरले भन्नुभयो, ‘‘अब चार सय फिटमुनि चापाकल गाडनुपर्ने अवस्था छ, सरसामान किनिसकेको छु, मिस्त्रीको बाटो कुरिरहेको छु ।’’
उहाँ मात्रै होइन, जलेश्वर नगरपालिका– ४ सुगा बस्ने किरण देवीले पनि घरको चापाकलबाट थोरै पानी आइरहेको बताउनुहुँदै पानीको समस्या दिन प्रतिनिदिन गहिरिँदै गएको बताउनुभयो । पानीको सतह घट्दै गएका कारणले यसक्षेत्रमा पानीको समस्या बढ्दै गएको हो ।
जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरसहितको क्षेत्रमा समेत पानीको समस्या देखिएको छ । पानीको समस्या समाधानका लागि स्थानीय सरकारलाई समेत आफुहरु हारगुहार गरिरहेको स्थानीय युवा इन्दल दासले बताउनुभयो ।
चुरेको दोहन तथा प्रशस्त पानी नपरेका कारण यसक्षेत्रमा दिनानुदिन पानीको समस्या बढ्दै गएको हो । जलेश्वरका वयोवृद्ध कृष्णचन्द्र झाले स्थानीय सरकारले कुनै दीर्घकालीन योजना बिना भविष्यको आँकलन नै नगरी जथाभावी गाउँ टोलमा सिमेन्ट ढालेर सडक बनाएका कारणले पानीको समस्या देखिएको अनुमान गर्नुभयो । उहाँले विगतमा पक्की सडक नहुँदा माटो हिलोका कारणले यतिको गर्मी पनि महसुस नहुनुका साथै पानीको समस्या समेत नदेखिएको सम्झिनुभयो ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पानीको समस्या विकराल बन्दै गएको बताउनुहुँदै यसका लागि सरोकारबाला निकायहरुले एक रुपताका साथ दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नगरवासीहरु पानीको समस्याबारे दैनिक भन्न आउँछ, मेरै घरमा पनि पानीको समस्या छ, तर आफूले चाहेर पनि दीर्घकालीन समाधान दिन नसकिरहेको बताउनुहुँदै नगरप्रमुख मण्डलले भन्नुभयो, ‘‘तत्कालका लागि बढी समस्या देखिएको नगरक्षेत्रमा पानी वितरणको पहल गरिरहेको छु ।’’