शशिधर पराजुली
विराटनगर, असार ३२ गते । स्वास्थ्य बिमा बोर्डले सङ्घीय सरकार अन्तर्गत रहेको विराटनगरस्थित कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेपछि कोशी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
कोशी अस्पताल कर्मचारी युनियनले बुधबार उक्त निर्णय तत्काल सच्याउन र अस्पतालबाट प्रथम सेवा केन्द्रको सुविधा हटाउने निर्णय फिर्ता लिन माग गर्दै मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा. रुणा झामार्फत स्वास्थ्य मन्त्री प्रदीप पौडललाई ज्ञापन पत्र बुझाएको हो । बोर्डको निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ ।
बोर्डको पछिल्लो निर्णय र त्यस सम्बन्धी कानुनी व्यवस्थाले अस्पतालको सेवामाथि नागरिकको सर्वसुलभ पहुँच र नजिकको स्वास्थ्य संस्थाबाट विशिष्टकृत उपचार सेवा पाउने सर्वसाधारणको अधिकारमाथि हस्तक्षेप भएको भन्दै युनियनले विरोध जनाएको हो ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, कोशी अस्पतालमा दैनिक आउने झण्डै ५०० जना बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी स्थानीय अर्थात् विराटनगर महानगरपालिकाका बासिन्दा हुन् । तर बिमा बोर्डको असार १९ गते बसेको निर्णयपछि साउन १ गतेदेखि कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको भनिएको छ । यस्तो विभेदपूर्ण व्यवहारका कारण विराटनगरसहित आसपासका जिल्लाबाट आउने हजारौं बिरामीलाई अस्पताल प्रवेश नै बन्दजस्तै हुने युनियनले जनाएको छ ।
‘प्रथम सेवा विन्दु नरहेकाले अस्पतालको प्रवेशद्वारमै सेवाग्राही रोकिने छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले आकस्मिक सेवादेखि लिएर नियमित ओपिडी, विशेषज्ञ परीक्षण, भर्ना, शल्यक्रिया तथा अन्य सेवा प्रक्रियामा समेत अवरोध सिर्जना गर्ने छ ।’
बोर्डको निर्णय लागु भएमा अब कोशी अस्पतालमा कार्यरत कर्मचारी र उनीहरूका परिवारले पनि बिमा सेवा लिनका लागि पहिले पालिका अस्पतालमा पुगेर रेफर लिएर आउनु पर्ने बाध्यता बन्ने छ । युनियनले स्वास्थ्य मन्त्रालयले आफ्ना कर्मचारीहरूलाई अनिवार्य रूपमा बिमामा समावेश गर्नुपर्ने निर्णय गरिसकेको अवस्थामा अस्पतालमै कार्यरत कर्मचारीहरू नै अब बिमाबाट बहिष्कृत हुने अवस्था आउने देखिएको छ ।
‘प्रथम सेवा विन्दु नरहेकाले कर्मचारीहरूले पनि बिमा सुविधाबाट वञ्चित हुने अवस्था आएको छ । सरकार आफैँले गरेको निर्णय आफैँले खारेज गरेजस्तो भएको छ,’ युनियनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
कोशी अस्पतालमा विकास समिति अन्तर्गत मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, प्राविधिक र सहयोगी कर्मचारीसमेत गरी झण्डै २०० कर्मचारी कार्यरत छन् । स्वास्थ्य बिमा अन्तर्गत पहिलो सेवा विन्दुको सुविधा हटेको खण्डमा ठुलो सङ्ख्यामा बिरामी निजी अस्पताल पुग्ने चिन्तामा उनीहरू छन् ।
युनियनले भनेको छ ‘अब तिनीहरूले पहिले अन्य वडामा गएर रेफर लिएर मात्र अस्पताल आउनुपर्ने बाध्यता आएको छ, यसले स्वास्थ्य उपचारमा रेफरलको झन्झट, उपचारमा ढिलासुस्ती आदि समस्याले प्रदेशको स्वास्थ्य उपचार प्रणाली नै तहसनहस हुने जोखिम बढेको छ,’
युनियनले यो निर्णयले सरकारी अस्पताललाई कमजोर बनाउने र निजी अस्पताललाई फाइदा पुग्ने भन्दै निर्णय सच्याउन माग गरेको हो ।
"रेफरलको नाममा बिमा बिरामीहरूलाई निजी अस्पताल पठाउने र कोशी अस्पताललाई पन्छ्याउने चाल देखिन्छ," कर्मचारी युनियनका अध्यक्ष डा.रोशन खड्काले भन्नुभयो, "सेवाग्राहीको आवश्यकता र कोशी अस्पतालको महत्त्वलाई बेवास्ता गरी गरिएको यो निर्णय हामीलाई कदापि मान्य छैन । यसले सामान्य जनताको जीवन रक्षाका लागि खटिने स्वास्थ्य संस्थामाथि आघात पुर्याएको छ ।" उहाँले ज्ञापनपत्र मार्फत निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने जानकारी दिएको बताउनुभयो ।