फडिन्द्र अधिकारी
लेखनाथ, साउन १ गते । उच्च अदालत पोखरा र कास्की जिल्ला अदालत दुवैको मुद्दा फर्छ्यौट दर बढेको छ । उच्च अदालतमा आर्थिक वर्ष ०८१/०८२ मा ७८ दशमलव शून्य सात प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । यो पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा बढी हो ।
आर्थिक वर्ष ०८१/०८२ को फर्छ्यौट लक्ष्यको आधारमा भने एक सय छ दशमलव ७१ प्रतिशत हो । यो वर्ष दुई हजार पाँच सय दुई थान फर्छ्यौट गर्ने लक्ष्य लिइएको थियो । उच्चको मेलमिलाप केन्द्रमार्फत यो वर्ष जम्मा ३२ मुद्दामा मिलापत्र भएको छ । यहाँ २१ जना सूचीकृत मेलमिलापकर्ता छन् ।
उच्चका रजिस्ट्रार खड्गराज अधिकारीले ०७७/०७८ मा ५२ दशमलव ९३ प्रतिशत, ०७८/०७९ मा ५१ दशमलव ७४ प्रतिशत, ०७९/०८० मा ६२ दशमलव ५९ प्रतिशत र ०८०/०८१ मा ५४ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । अहिले उच्चमा १८ महिना नाघेका एउटा पनि मुद्दा बाँकी नरहेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष ०८०/०८१ बाट लगत सरेर आएका एक हजार पाँच सय ९० र यो आर्थिक वर्ष दर्ता भएका एक हजार आठ सय ३० वटा गरी तीन हजार चार सय २० मध्ये दुई हजार छ सय ७० थान मुद्दा फर्छ्यौट भएका छन् । अधिकारीले भन्नुभयो, “आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सात सय ५० थान मुद्दाको लगत सरेको छ ।” लगत सरेका मुद्दामा १८ महिनाभित्रका ३० वटा, एक वर्षभित्रका एक सय ८६ र छ महिनाभित्रका पाँच सय ३४ वटा छन् ।
कास्की जिल्ला अदालतमा भने आर्थिक वर्ष ०८१/०८२ मा ७० दशमलव ५१ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । कास्की जिल्ला अदालतमा पनि पछिल्लो पाँच वर्षको तुलनामा यो सबैभन्दा बढी हो । गत आर्थिक वर्ष ०८०/०८१ बाट जिम्मेवारी सरी आएका दुई हजार छ सय ५९ थान मुद्दा थिए भने ०८१/०८२ मा चार हजार दुई सय ६६ थान मुद्दा थपिए ।
कुल छ हजार नौ सय २५ मुद्दामध्ये यो वर्ष चार हजार आठ सय ८३ मुद्दाहरू फर्छ्यौट भएको स्रेस्तेदार राजन खनालले बताउनुभयो । यो कुल मुद्दाको ७० दशमलव ५१ प्रतिशत हो । स्रेस्तेदार खनालले यो वर्ष चार हजार सात सय ९२ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा चार हजार आठ सय ८३ थान अर्थात् लक्ष्यको एक सय एक दशमलव ८९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको बताउनुभयो ।
जिल्ला अदालतमा ०७६/०७७ मा ४७ दशमलव ९५ प्रतिशत, ०७७/०७८ मा ५० दशमलव ८४ प्रतिशत, ०७८/०७९ मा ५५ दशमलव २ प्रतिशत, ०७९/०८० मा ६४ दशमलव ६४ प्रतिशत, ०८०/०८१ मा ६३ दशमलव २० प्रतिशत फर्छ्यौट भएका थिए । अब बाँकी दुई हजार ४२ मुद्दामध्ये दुई वर्ष नाघेका सात र १८ महिना नाघेका ३१ मुद्दा छन् । कास्की जिल्ला अदालतमा आठ न्यायाधीशको दरबन्दी रहेकोमा हाल सात न्यायाधीश कार्यरत हुनुहुन्छ ।