अमृतप्रसाद पौडेल
म्याग्दी, साउन १ गते । बेनी नगरपालिका–४, फापरखेत र मङ्गला गाउँपालिका–२, सिमलचौरको सिमाना पर्ने फापरखेतको पहिरोले यहाँका बासिन्दालाई बर्खाभरि सताउने गरेको छ । आकाश मडारिनै लाग्दा पहिरो झर्छ र आवतजावत रोकिन्छ, बेनी–दरबाङ सडकखण्ड नै बन्द हुन्छ ।
जोखिम सडकलाई कटाएर मङ्गला गाउँपालिका–३, पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी उक्त बेलिब्रिज हाल्ने योजना अनुरूप धेरै प्रयास भए पनि हालसम्म सार्थकता हुन सकेको छैन । बर्खामा पहिरोले सडक अवरुद्ध हुँदा पश्चिम म्याग्दीका साथै बागलुङका बासिन्दालाई सास्ती हुने गरेको छ ।
पश्चिम म्याग्दीको जीवनसँग जोडिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरोमै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सिमलचौरका विकल कँडेलको भनाइ छ । सामान्य झरीमा पनि खस्ने पहिरोले मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाले प्रत्यक्ष समस्या भोग्ने गरेका छन् । पहिरो समयमै नियन्त्रण हुन नसक्दा पछिल्ला दिनमा पहिरोको प्रभावित क्षेत्र झन् झन् फराकिलो बन्दै गएको छ । यसका कारण पहिरो नियन्त्रण गर्दा ठुलो रकम लाग्ने देखिएको छ ।
पहिरोबाट बच्न वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि सरकारी संयन्त्रबाट भएको ढिलासुस्तीका कारण समस्या भोग्नु परेको स्थानीय बासिन्दाले दुःखेसो पोखेका छन् । सधैँभरि जोखिम बनेको उक्त पहिरोले सडकमा आवतजावत मात्रै होइन, आसपासका क्षेत्रमा रहेका घरलाई समेत जोखिम बनाएको तातोपानीवासी कृष्ण खड्काले बताउनुभयो ।
पहिरो बढ्ने क्रमसँगै हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन थालेको मङ्गला गाउँपालिका–१ का सुसन किसानको भनाइ छ । माथिबाट पहिरो खस्दै गर्दा तलपट्टि सडक निर्माण गरिनु सधैँका लागि जोखिम भएको मङ्गला गाउँपालिका–५, अर्मनका चिरञ्जीवी शर्माको भनाइ छ ।
सडकदेखि साढे दुई सय मिटर माथि रहेको पहिरो यस पटक झनै फराकिलो बन्दै गएको छ । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पहिरोका कारण भोग्नु परेको सास्ती हटाउन गाउँपालिकाको अगुवाइमा प्रभावित क्षेत्रका बासिन्दासँग समन्वय भइरहेको बताउनुभयो । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न बेनी नगरपालिका–४, फापरखेत र मालिका गाउँपालिका–६, बाङ्ग्रेपहिरो मुख्य चुनौती बनेको छ । हिउँद, बर्खा नै पहिरो पन्छाउने क्रममा माथिबाट पहिरो खसेर डोजर अपरेटर दुर्घटनामा पर्ने अवस्था आएकाले अब सहज विकल्पको खोजी भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो ।