खलङ्गा समाचारदाता
जाजरकोट, साउन १ गते । यहाँका युवाले एक कप चिया अभियान सञ्चालन गरी बिरामीलाई सहयोग गरेका छन् । जाजरकोट सदरमुकाम खलङ्गाका युवाले एक कप चिया अभियान सञ्चालन गरी उठेको रकम भेरी नगरपालिका–४ का महेन्द्रकुमार भडेलको उपचारमा सहयोग गरेका हुन् । मानवसेवा, लागुऔषध दुव्र्यसनी, सरसफाइको अभियन्ता बनेका युवाले सकारात्मक सन्देश प्रवाह गरी समाज रूपान्तरण गर्न एक कप चिया अभियान सञ्चालन गरेका हुन् ।
करिब २०/२५ जना युवाको समूहले एक कप चिया अभियानबाट सानो सहयोग ठुलो परिवर्तनका साथ अभियानमा जुटेका छन् । भेरी नगरपालिका–४ का महेन्द्रकुमार भँडेल बचाउ अभियान चलाएका युवाले एक कप चिया अभियानबाट चार लाख ६६ हजार ५७० रुपियाँ आर्थिक सहयोग सङ्कलन गरेका छन् । ब्लड प्रेसरका कारण शिक्षण अस्पताल नेपालगन्जमा उपचारमा रहेका भडेल बचाउ अभियान सञ्चालन गरेका युवाले सङ्कलित रकम परिवारलाई हस्तान्तरण गरेका छन् ।
भेरी नगरपालिका–४ का युवा अभियन्ता अनिशकुमार कार्कीले विगतका वर्षदेखि सामाजिक अभियानका रूपमा सरसफाइ, मानवसेवा र कुलतमा लागेका युवालाई सकारात्मक सन्देश दिने गरेको बताउनुभयो । समाज रूपान्तरणका अभियन्ता कार्कीले बदलिएको व्यवस्थामा जनताको अवस्था बदल्न युवाको आवश्यकता भएको जनाउनुभयो ।
आर्थिक अवस्था कमजोर एक जनाको रोजगारीका भरमा परिवारलाई कसरी उपचार गर्ने भन्ने चिन्ता थपिएका बेला उहाँको साहारा युवा भएका छन् । जाजरकोट सदरमुकाममा पीडितको सहयोगका भेरी नगरपालिका–४, गैरीखाली, रामजानकी टोल, वडा नं. ३ ठाँटी बजारलगायत पाँच वटा स्थानमा महेन्द्रकुमार भडेलका लागि एक कप चिया अभियान सञ्चालन गरेपछि देश तथा विदेशका सर्वसाधारणले सहयोग गरेका थिए । बिरामी भडेलको उपचारका लागि सङ्कलन गरेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।