बाबुराम कार्की
वराहक्षेत्र, भदौ १० गते । गाउँघरका घरवरिपरि नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सिप र कलाले भरिपूर्ण सुन्दर गुँड अचेल देखिन छाडेका छन् । सुन्दर गुँड बनाउने खुबी भएकैले ‘इन्जिनियर’ मानिने बायाँ तोप चरा डेढ दशकअघिसम्म ठुलै सङ्ख्यामा गाउँघरमा देखिन्थे । पोथी चरालाई आकर्षित गर्न कलात्मक गुँड बनाएर बस्ने चरा अहिले भने गाउँघरमा देखिन छाडेका छन् ।
सानो चुच्चोको सहारामा अथक मेहनत र लगाबसहित कलात्मक घर निर्माण गर्नु बायाँ तोप चराको विशेषता हो । नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सुन्दर कलात्मक गुँडलाई देखेर जो कोहीको ध्यान आकर्षित हुन्छ तर पोथी बायाँ तोपलाई आकर्षित गर्न भाले तोपले अझै मेहनेत र सिप भर्नु पर्छ ।
काँस, सिरुलगायतका घाँसबाट गुँडको बाहिरी आवरण तयार गरेर भित्री भाग माटाले लिपेर उज्यालोका लागि जुनकिरी टाँसेपछि बल्ल पोथीलाई आफ्नो गुणमा भिœयाउन सफल हुन्छ । पोथीले आफूलाई मन परेको गुँड छानेर बस्ने भएकाले सुन्दर गुँड बनाउन भालेबिच प्रतिस्पर्धा नै हुने गर्छ । पोथी तोपलाई राख्न, अन्डा पार्न सहज हुने गरी छेउछेउमा लाम्चो र बिचमा फुकेको अन्डा आकारमा गुँड तयार गर्ने भएकाले तोप चरालाई प्रकृतिको इन्जिनियर पनि भनिन्छ ।
मानवीय कारण जैविक विविधतामा असर परिरहेका बेला बायाँ तोप चरा पनि कम मात्रामा देखिन थालेको छ । तराईका बस्ती र फाँटमा बाक्लो देखिने प्रकृतिको इन्जिनियर, कलाकार तोप चरा पछिल्लो समय देखिन छाडेको चराका जानकार बताउँछन् । उनीहरूका अनुसार बायाँ तोप चराको सङ्ख्या सीमित हुँदै गएको छ ।
कृषिजन्य भूमिमा पाइने चराका केही प्रजाति विश्वबाटै घट्दो सङ्ख्यामा रहेको छ । खेतबारीमा प्रयोग गरिने विषादी र त्यसबाट मरेका किरा फट्याङग्रा खाएर बाँच्ने तोप चराको सङ्ख्यामा कमी आएको छ । कृषि प्रविधिको प्रयोगसँगै खेतबारीमा निस्कने झार गोड्नदेखि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न रासायनिक विषादीको प्रयोग दिनप्रतिदिन बढ्दै जाँदा चराका लागि पर्यावरण प्रतिकूल बन्न पुगेको छ ।
बढी विषादीको प्रयोगकै कारण खेतबारीमा आहाराका लागि आश्रित हुने चराको प्रजनन क्षमतामा ह्रास आउने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ । चरा भनेको प्राकृतिक सुन्दर गहना हुन् । चराचुरुङ्गीबिनाको प्रकृति कल्पना पनि गर्न सकिँदैन तर तिनै चराका प्रजाति आजकाल मासिँदै गइरहेका छन् । डाक्टर बराल भन्नुहुन्छ, “प्राकृतिक सहअस्तित्वको जगेर्ना गर्नु हामी मानवको दायित्व भए पनि मानवकै विविध गतिविधिका कारण चराको सङ्ख्या घट्दो अवस्थामा छ ।”
पछिल्ला एक दशकदेखि तराईका कृषि भूमि खण्डीकरण गरी घडेरीमा परिणत गरिँदा बारीमा आश्रित चराको वासस्थानसमेत उजाडिँदै गएको छ । चराको चोरीसिकारी, आहाराको अभाव हुँदै जानु, जलवायु परिवर्तन र मानवमा सचेतनाको कमी जस्ता कारणले दिनप्रतिदिन चराको सङ्ख्यामा कमी हुँदै गएको डा. बराल बताउनुहुन्छ ।
नेचर गाइड अनिश तिम्सिनाका अनुसार चराको वासस्थान र चर्ने ठाउँ दिनप्रतिदिन साँघुरिँदै गएको छ । आहारा खोजेर खाने ठाउँ मासिनु र रुख, बाँसझ्याङ, झाडी मासिनाले चराको सङ्ख्यामा कमी आउन थालेको छ । चरा लोप हुँदै जाँदा मानवीय जीवनलगायत पर्यावरणमै प्रतिकूल प्रभाव पर्ने वरिष्ठ चराविद् हेमसागर बराल बताउनुहुन्छ ।
चराचुरङ्गीको संरक्षण र कृषिमा रासायनिक मल र विषादीको मात्रा घटाउन जैविक खेती अपनाउनुपर्ने बेला आएको छ । खेतमा भएका किरा फट्याङ्ग्रा खाएर बाँच्ने केही प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको पन्छीविद् बताउँछन् । १५० प्रजातिका चरा सङ्कटमा पर्दै गएका छन् । नेपालमा मात्रै नभएर विश्वमै एक दर्जन चरा सङ्कटमा पर्दै गएका छन् ।