• १६ भदौ २०८१, आइतबार

दुर्घटनामा परेकाको तत्कालै उद्धार, छैनन् एकीकृत सेवा संयन्त्र

blog

काठमाडौँ, भदौ ८ गते । भारतीय नागरिक सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा खस्यो । शुक्रबार बिहान ११:१५ मा खसेपछि बसको पछाडि रहेका अरू गाडीका यात्रुले प्रहरीलाई खबर गरे ।

प्रत्यक्षदर्शी सुब्बा लामाका अनुसार १५ मिनेटमै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेका थिए । त्यसको केहीछिनमै आबुखैरेनीस्थित स्थानीय स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली पुग्यो । उहाँले भन्नुभयो, “बस दुर्घटनामा प्रहरी, एम्बुलेन्स र स्वास्थ्यकर्मीले एकैसाथ उद्धार र स्वास्थ्योपचार थाल्नुभयो ।”

प्रत्यक्षदर्शी लामाले नजिकै प्रहरी कार्यालय र स्वास्थ्य संस्था भएकाले पनि उद्धारमा सहज भएको बताउनुभयो । उहाँका अनुसार बसको आधा भाग पानीमा खसेपछि मृतकको शव निकाल्ने, घाइतेलाई प्राथमिक उपचार गर्ने र एम्बुलेन्समा राखेर उपचारका लागि पठाउने काम सँगसँगै गरिएको थियो । बसमा ४३ जना सवार थिए । उहाँले भन्नुभयो, “सडक नै नदेखिने गरी पानी परिरहेको थियो । घुम्तीबाट बस सिधै खोलामा खस्यो । पानीले सडक चिह्न प्रस्ट देखिएकै थिएन । सायद घुम्तीमा चालकले नियन्त्रण गुमाएका कारण बस खसेको हुनु पर्छ ।”

दुर्घटनास्थलमै पठाइँदैन पारामेडिक्स 

दुर्घटनास्थलनजिकै प्रहरी र स्वास्थ्य केन्द्र रहँदा शुक्रबारको बस दुर्घटनाका दौरान उद्धारमा सहज भए पनि देशैभरिका सडकमार्गमा यस किसिमको सुविधा छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ठुलै प्राकृतिक विपत्तिमा मात्रै चिकित्सक सहायता अर्थात् पारामेडिक्स खटाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, “विपत्का बेला नजिकका उद्धारकर्ता नागरिक नै हुन् । नागरिकलाई पनि तालिम दिनु पर्छ । दुर्घटनापछि तत्कालै प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गर्नु पर्छ । स्वास्थ्य मन्त्रालयकै नागरिक हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरले ठुला विपत्तिमा काम गर्छ तर स्रोतसाधन र जनशक्तिको अभावका कारण सबै ठाउँ पुग्न सम्भव छैन ।” डा. बुढाथोकीले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र इमर्जेन्सी अपरेसन सेन्टरले प्रहरीलाई १०० मा र एम्बुलेन्सका लागि १०२ मा फोन गर्नेसम्मको सचेतता प्रदान गर्ने गरी तालिम दिने बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति कम छ । पारामेडिक्स जान सक्दैनन् । वार्षिक दुई हजारसम्मलाई तालिम गरिँदै छ । तालिमले पनि राम्रै गर्छ ।”

डा. बुढाथोकीका अनुसार देशभरि दुई हजार ५०० जति एम्बुलेन्स छन् । दस वर्षभित्र चलिरहेका एक हजार ५०० जतिमध्ये ८५२ मा जिपिएस जडान गरिएको छ । उहाँले भन्नुभयो, “दुर्घटना भएमा १०२ मा फोन गर्दा सम्बन्धित एकाइले एम्बुलेन्स कहाँ छ, कति समय लाग्छ भन्ने जानकारी लिने र तत्कालै दुर्घटनास्थलमा पठाउन समन्वय गर्छ ।” 

एक ट्राफिकको भरमा २,२५३ सवारी

दुर्घटना भएमा तत्कालै खटाउने पारामेडिक्सको छुट्टै एकाइ नभए पनि सडक सुरक्षाका लागि ट्राफिक प्रहरी खटाइएको छ तर देशभरि दर्ता भएका सवारीसाधनको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या ज्यादै न्यून छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार देशभरि दुई हजार ७७० ट्राफिक दरबन्दी रहेको छ । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा एक हजार ८८ दरबन्दी छ तर एक हजार ८०० ले काम गर्छन् । सवारीसाधनको अनुपातमा यो जनशक्ति एकदमै न्यून हो ।” उहाँका अनुसार देशभरिको ७७ हजार ३०२.६८ किलोमिटर सडकमार्गमा एक दिनमा ६५ दुर्घटना हुन्छन् । त्यसमध्ये ८३ घाइते र दिनहुँ सात जनाको मृत्यु भइरहेको प्रहरीको तथ्याङ्क छ । डिआइजी कार्कीले भन्नुभयो, “६२ लाख ३८ हजार ३०१ सवारीसाधन दर्ता भएका छन् । समग्रमा एउटा ट्राफिक प्रहरीले दुई हजार २५३ सवारीसाधन हेर्नु पर्छ । यदि पूर्ण स्रोतसाधन सम्पन्न बनाउने र सडकमार्गको फर्निसिङ तथा उच्च प्रविधियुक्त बनाएमा मात्रै यही जनशक्तिले राम्रोसँग काम गर्न सक्छ ।” उहाँले नेपालभरि नै ट्राफिक लाइट नियमन गर्ने, सडकलाई चुस्त दुरुस्त बनाउने तथा ओभर टेक, ओभर स्पिड र ओभर लोडसहितका गतिविधि नियन्त्रण गर्न विशेष किसिमको क्यामेरा जडान गर्नुपर्ने बताउनुभयो । 

डिआइजी कार्कीले भन्नुभयो, “स्वास्थ्य सुरक्षा, शिक्षा सुरक्षा, धनजनको सुरक्षा, सम्पत्तिको सुरक्षा, आत्मसम्मानको सुरक्षा, यी सबैको सुरक्षा गर्ने जिम्मेवारी राज्यकै हो । त्यसमा जनधनको सुरक्षा गर्ने सन्दर्भमा प्रहरीले जुनसुकै स्थितिमा पनि काम गरिरहेको छ तर दुर्घटनापछि स्वास्थ्य सुरक्षा गर्ने दायित्वका विषयमा सिपयुक्त जनशक्ति परिचालन गर्नु पर्छ । प्रहरीले पनि स्वास्थ्यकर्मीकै काम गर्ने होइन, स्वास्थ्य सुरक्षाका लागि एकीकृत सेवा सुरु गरिए प्रहरी सहकार्य गर्न तयार छ ।”