राधा लुइटेल
फिदिम, साउन ३० गते । निरन्तरको वर्षासँगै चलेको हावाहुरीले पाँचथरका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्याएको छ ।
वर्षा र हुवाहुरीले फिदिम नगरपालिका १३ र १४, फालेलुङ गाउँपालिका ४, ५ र ६, फाल्गुनन्द मिक्लाजुङ गाउँपालिका २, ४, ५, ६ र ७ सँगै याङवरक गाउँपालिकाका अधिकांश वडामा ठुलो परिमाणको मकै बालीमा क्षति पुगेको हो ।
साउन १७ गतेयता निरन्तर भएको वर्षा र हावाहुरीका कारण लेकाली भेगमा धेरै क्षति पुगेको जिल्ला समन्वय समिति पाँचथरका पूर्व उपप्रमुख डिल्लीराम दुलालले बताउनुभयो ।
‘‘सुत्ला च्याप्दै गरेका मकै सबै लडे, अर्को वर्ष बीउ नै नजोगिने अवस्था छ ।’’ दुलाले भन्नुभयो । साउन दोस्रो सातादेखि यो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । वर्ष र झरीले मकैसँगै भट्मास र दलहन बालीमा पनि क्षति पुगेको किसानहरुको भनाइ छ ।
हावाहुरीका कारण पुगेको क्षतिको अध्ययन गरी राहत दिनुपर्ने किसानहरुको माग छ । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार सेर्मा (सन्तोष)ले पालिकाको कृषि शाखामार्फत सङ्कलन भइरहेको पनि सेर्माको भनाइ छ ।
अवल क्षेत्रमा ढेडु र बाँदरले दुःख दिइरहेका बेला लेकाली किसानलाई हावाहुरीले पिरोेलेका फालेलुङ ५ का वडाध्यक्ष भरतकुमार खपाङ्गी बताउँनुहुन्छ ।