• १२ असार २०८२, बिहिबार

किसानलाई मिनिटिलर वितरण

blog

सुनकोशी गाउँपालिकाका कृषकलाई मिनिटिलर वितरण गरिँदै ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, असार १२ गते । सुनकोशी गाउँपालिका–१ देखि ५ नम्बर वडाका किसानलाई ३६० वटा मिनिटिलर वितरण गरिएको छ । ५० प्रतिशत लागत साझेदारीमा किसानलाई उक्त परिणामको मिनिटिलर प्रदान गरिएको उक्त गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

यस वर्ष ६६२ थान मिनिटिलर ल्याइएको छ । बाँकी मिनिटिलर वडा नम्बर ६ र ७ का किसानलाई केही दिनभित्रै वितरण गरिने उहाँले बताउनुभयो । मिनिटिलरका लागि ८ सय भन्दा बढी किसानले निवदेन दिएकोमा प्रक्रिया पुगेका ६६२ जना किसानलाई नै ५० प्रतिशत साझेदारीमा मिनिटिलर वितरण गरिने उपाध्यक्ष कान्छी लामाले बताउनुभएको छ । 

कृषकले १२ हजार ६४८ रुपियाँ बेहोरेपछि पालिकाले त्यत्ति नै रकम अनुदान दिएर मिनिटिलर खरिद गरेको हो । उक्त मिनिटिलरको बजार भाउ करिब ३० हजार माथि रहेको जनाइएको छ । गापाले यस वर्ष १ करोड ६० लाख बजेटमा उक्त परिणामको मिनिलिटर खरिद गरेको प्रमुख प्रशासकिय अधिकृत विकेश प्रजापतिले जानकारी दिनुभयो । उक्त गाउँपालिकाले कृषि पशुपालन, यान्त्रिक उपकरणमा किसानलाई अनुदान प्रदान गर्दे आएको अध्यक्ष तिमल्सिनाले बताएनुभयो ।

गत वर्ष पनि सो गापाले सयौं मिनिटिलर वितरण गरेको थियो । मिनिटिलर पाएपछि खेतीपातीमा सहजता हुने सुनकोशी गापा–४ का किसान भूपाल मिजारले खुसी प्रकट गर्नुभयो ।