• १२ असार २०८२, बिहिबार

जसपाको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

blog

काठमाडौँ, असार १२ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो। 

बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ।

त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनाेटका लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा निर्धारण भएको उहाँले बताउनुभयो। 

पार्टीको महाधिवेशनबाट निर्वाचित वा मनोनयनको प्रक्रियाबाट निर्वाचित पार्टीको कुनै पनि तहका पदाधिकारी वा सदस्यहरूले प्रदेश अधिवेशनका लागि प्रतिनिधि वा सदस्यमा उम्मेदवारी दिन पाउने छन्। तर उम्मेदवारी दिनुभन्दा अगावै तत्काल कायम रहेको आ–आफ्नो पदीय दायित्वबाट राजीनामा दिएर स्वीकृत  भएको प्रमाणसमेत आवेदन फारमसँग संलग्न गर्नुपर्ने छ।