अमृतप्रसाद पौडेल
म्याग्दी, साउन २९ गते । हिन्दुहरुको पवित्र तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाका चार वटा सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी रकम १५ लाख १० हजार सात सय २४ रुपियाँ सङ्कलन भएको छ ।
गलेश्वर दर्शन तथा पूजा अर्चनाका लागि साउन ७ गते पहिलो सोमबार दर्शनका लागि आउने भक्तजनहरुले तीन लाख ७२ हजार तीन सय ७२ रुपियाँ भेटी चढाएका थिए । त्यसैगरी, १४ गते दोस्रो सोमबार तीन लाख ३६ हजार एक सय ८५ रुपियाँ, तेस्रो सोमबार २१ साउनमा तीन लाख ६६ हजार दुई सय रुपियाँ र चौथो तथा अन्तिम सोमबार साउन २८ गते भक्तजनहरुले चार लाख ३५ हजार नौ सय ६७ रुपियाँ भेटी चढाएका थिए ।
मन्दिरको दानपेटिका खोलेर गणना गर्दा अमेरिकी डलर ६ पनि फेला परेको छ । एउटा पाँच र अर्को एक डलरको दुई वटा नोट दानपेटिकामा भेटिएको कोषले जनाएको छ ।
भक्तजनहरुले दानपेटिकामा चढाएको भेटी रकम गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको रोहबरमा खोलेर गणना गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गणना गरिएको रकम बेनीस्थित गरिमा विकास बैंकमा रहेको कोषको खातामा जम्मा गरिएको छ । साउनका हरेक सोमबार भक्तजनले चढाएको रकम मङ्गलबार बिहान गणना गर्ने गरिएको कोषले जनाएको छ ।
साउन महिनाको सोमबारहरुमा गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट भक्तजनहरु आएको मन्दिरका मूल पुजारी चन्द्रमणि आचार्यले जानकारी दिनुभयो । नेपाल मात्रै नभएर विदेशबाट पनि भक्तजनहरु दर्शनका लागि आउने गरेको उहाँको भनाइ छ ।
गलेश्वर मन्दीरमा महाशिवरात्री, बालाचतुर्दशी र साउनका सोमबारहरुमा भक्तजनको भिड लाग्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।
मन्दिरमा हुने ठुला पर्वहरुपछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको र अन्य अवस्थामा पनि हरेक महिना मन्दिरमा चढाएको भेटी गणना गर्ने उहाँले बताउनुभयो । साउन महिनामा यस वर्ष चार सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिडपछि मङ्गलबार रकम गणना गरेर सार्वजनिक गरिएको बानियाँको भनाइ छ ।
२०८० को साउन महिनामा नौ लाख २७ हजार २३ रुपियाँ सङ्कलन भएको थियो भने २०७९ को साउनभरि १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटी वापत सङ्कलन भएको थियो ।
यसैबिच, गलेश्वर मन्दिर क्षेत्रमा मङ्गलबार बिहान सशस्त्र प्रहरीबलले सरसफाइ गरेको छ । अन्तिम सोमबार भक्तजनले दर्शन तथा पूजाअर्चना गरेकाले त्यसबाट उत्पन्न फोहोर व्यवस्थापन तथा सरसफाइका लागि आफ्नो टोली खटिएको सशस्त्र प्रहरी बल गलेश्वर आश्रित गुल्मले जनाएको छ ।
सशस्त्र प्रहरीको टोलीले बिहानैदेखि गलेश्वर मन्दिर परिसर र गलेश्वर शिवालयको कम्पाउण्ड क्षेत्रमा सरसफाइ गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।