ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार १२ गते । म्याग्दीको बेनीमा रहेको खुल्लामञ्चस्थित खेलमैदानलाई फराकिलो र व्यवस्थित बनाउन पारापिट निर्माण सुरु गरिएको छ । कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतहभन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने गरी प्यारापिट बनाउन लागिएको हो ।
प्यारापिट निर्माण गर्न कस्तरी कन्स्ट्रक्सनसँग १९ लाख ९३ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको छ । प्यारापिट चार तहको २० मिटर लामो हुन्छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न यसअघि उठाइएको पिल्लरमाथि प्यारापिट बनाउन चालु आर्थिक वर्षमा नगरपालिकाले २५ लाख र सङ्घीय सरकारले २० लाख रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
सङ्घीय सरकारको योजनामार्फत थप करिब १५ मिटर प्यारापिट बनाउन उपभोक्ता समितिमार्फत काम हुने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुई वटा शीर्षकका आयोजनामार्फत करिब ३५ मिटर प्यारापिट तयार पार्ने लक्ष्यका साथ काम सुरु गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि ९७ मिटर भएको बेनी खुलामञ्चको खेलमैदानको लम्बाइ विस्तार गरेर एक सय मिटर प्यारापिट निर्माण भइसकेको छ । ३८ मिटर चौडाइ भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्यारापिट निर्माण गरिएको छ ।
एघार/एघार जना फुटबल खेलाउन मिल्ने बनाउन गतवर्ष बेनी भगवती मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाइ १०० मिटर बनाइएको थियो । खेलमैदान विस्तारका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षमा ५० लाख रुपियाँ विनियोजन गरेर काम गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा नौ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । तर खेलमैदान निर्माणका लागि बजेटको अभाव हुँदा उद्देश्य अनुसार खेलमैदान निर्माणको काम भने अघि बढेको छैन ।