• १२ असार २०८२, बिहिबार

दोबिल्ला-चनौटे जोड्ने झोलुङ्गे पुल बनेपछि आउजाउमा सहज

blog

काठेखोलाको दोबिल्ला-चनौटे जोड्ने झोलुङ्गे पुलमा आवातजावत गर्दै सर्वसाधारण । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असार १२ गते । जिल्लाको काठेखोला गाउँपालिका-६, दोबिल्ला र वडा १ को चनौटे जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । २८ लाख २३ हजार ६ सय १ रुपियाँको लागतमा पुल निर्माण गरिएको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्दै आएका छन् । सङ्घीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेको बिवाइसीका झोलुङ्गे पुल संयोजक प्रेम केसीले जानकारी दिनुभयो । 

काठेखोला-६, दोबिल्ला र वडा नं. १ चनौटे जोड्ने पुलले स्थानीयलाई आवतजावतसँगै खाद्यन्न ढुवानीमा सहज हुने काठेखोलाका अध्यक्ष राजु थापाले बताउनुभयो । दोबिल्ला बजारमा सामान किनमेल र विद्यार्थीलाई भिमसेन माविमा अध्ययनका लागि निर्धक्क भएर आवतजावतमा सहज हुने भएपछि स्थानीय हर्षित बनेका छन् । 

झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टिल ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका ४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यसअघि जिल्लाका ढोरपाटन, बरेङ र ताराखोला गाउँपालिकामा दस झोलुङ्गे पुल थपिएका थिए ।

यो वर्ष पाउजेघाट, काठेखोलामा दोबिल्ला-चनौटेघाट र ढोरपाटन नगरपालिका-६, गादीखोलाको ठुलो बिसौनीघाटमा पुल निर्माणको काम चलिरहेको छ । दोबिल्ला–चनौटेघाट स्टील ट्रस्ट पुल, ठूलो बिसौली घाट झोलुङ्गे पुल निर्माणको चरणमा छन् । यि तीन पुल बनिसक्दा सो क्षेत्रका साढे ६ हजारभन्दा बढी नागरिक लाभान्वित हुने छन् । 

आगामी आर्थिक वर्षमा सात पुल निर्माण गर्नेगरी बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा सर्भे गरिएको छ । बागलुङ नगरपालिकाको भिमिराघाट, गलुवा बुकेनी–गलुवा घाट, सौर्य–गहते घाट, काठेखालाको सिमघाट, तङ्ग्राम–हिले–कुथुर्के घाट र बरेङको पानीखाने घाट खोलामा पुल निर्माणका लागि सर्भे गरिएको छ ।