• २ माघ २०८१, बुधबार

मुस्ताङका बगैँचामा लटरम्म स्याउ (फोटोफिचर)

blog

स्याउ ‘हब’का रुपमा परिचित हिमाल पारिको जिल्ला मुस्ताङका बगैँचा राताम्मे । तस्बिर : साधन घर्ती

साधन घर्ती 
म्याग्दी (दरबाङ), साउन २९ गते ।
स्याउ ‘हब’का रुपमा परिचित हिमाल पारीको जिल्ला मुस्ताङका बगैँचा अचेल राताम्मे भएका छन् । बारीमा फापर र उवा लगाउँदै आएका मुस्ताङका कृषकहरु पछिल्लो समय स्याउ खेतीमा आकर्षित भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टका अनुसार, परियोजना एकाइअन्तर्गत स्याउ जोनमार्फत सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता, अनुकूल मौसम, रोगकिराको सङ्क्रमणको कमि र व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनका कारण गत वर्षको तुलनामा ३०–४० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ ।



जिल्लाभर एक हजार ४१० हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएकोमा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा मात्र स्याउ उत्पादन भइरहेको छ । ६० प्रतिशत क्षेत्रफलमा उच्च घनत्वको र ४० प्रतिशत क्षेत्रफलमा स्थानीय उन्नत जातका स्याउ उत्पादन भइरहेका छन् । गत वर्ष चार हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा ९० प्रतिशत जिल्ला बाहिर निर्यात भएको थियो भने १० प्रतिशत जिल्लामै खपत भएको थियो । घरपझोङ गाउँपालिका–३ लाङ्मोथाङस्थित चिम्ले अर्चाड फार्मका सञ्चालक कर्मा गुरुङले गतवर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन वृद्धि हुने बताउनुभयो ।


यहाँका स्याउ बगानले मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गरेको छ । कम गुणस्तरका स्याउलाई प्रशोधन गरी स्याउको सुकुटी, जाम, जुस र ब्रान्डी बनाउने गरिन्छ । मुस्ताङी स्याउ असोज महिनादेखि बिक्रीका लागि बजारमा पठाइन्छ । जिल्लाभित्र स्थानीय उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियसलगायतको व्यावसायिक स्याउ खेती गरिएको छ । यस्तै, लगाएको पहिलो वर्षमै उत्पादन दिने उच्च घनत्वको (हाइब्रिड) स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोड, रेड डेलिसियस र जोना प्रिन्स जातका स्याउ खेती गरिन्छ । शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका प्राविधिक सहायक भीमसेन भण्डारीले गतवर्षको तुलनामा दोब्बरले  उत्पादन बढ्ने अनुमान गरेको बताउनुभयो ।