• १६ भदौ २०८१, आइतबार

खेलकुदको विश्व मेला

blog

ओलम्पिकलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेला मानिन्छ । ओलम्पिक खेलमा विश्वका सबै देशले भाग लिन्छन् । विश्वमा खेलिने प्रायः सबै लोकप्रिय खेल ओलम्पिकमा खेलिन्छन् । ओलम्पिकमा विश्वका सबै देशका उत्कृष्ट खेलाडीको एकै ठाउँमा जमघट हुन्छ । त्यसैले ओलम्पिक खेल्ने सपना हरेक खेलाडीले साँचेको हुन्छ तर पदक जित्ने सौभाग्य कमैलाई मात्र मिल्छ ।

ओलम्पिक प्राचीनकालमै सुरु भएको हो । ग्रिसमा ओलम्पिक खेलिन्थ्यो । ओलम्पिया पर्वतमा प्रतियोगिता हुन्थ्यो । यसैले यो प्रतियोगिताको नामकरण पनि ओलम्पिक भयो । प्राचीन ओलम्पिकको सुरुवात इसापूर्व ७७६ मा भएको मानिन्छ । प्राचीन ओलम्पिकमा सैनिक प्रशिक्षण अन्तर्गत रहने घोडा सवारी, कुस्ती, बक्सिङ, दौड, भाला फ्याक्ने, रथ दौड आदि खेल खेलिन्थे । प्राचीन ओलम्पिकको अनुसरण गर्दै सन् १८९६ मा ग्रिसको एथेन्सबाट नै आधुनिक ओलम्पिकको सुरुवात भएको हो । 

अब साउनमा फ्रान्सको पेरिसमा आधुनिक ओलम्पिकको ३३ औँ संस्करण हुँदै छ । पेरिस ओलम्पिकमा यस पटक ३९ खेल खेलिने छ । प्रतिस्पर्धाका लागि करिब ११ हजार खेलाडी पेरिस पुग्ने छ । अब हामी ओलम्पिकमा प्रतीकका रूपमा देखाइने मस्कटका बारेमा बुझ्ने छौँ । ओलम्पिक जस्ता प्रमुख खेलकुद मेला हुँदा मस्कट अनिवार्य पक्ष हो । मस्कट स्थिर भने हुँदैन । हरेक संस्करणमा मस्कट परिवर्तन भइरहन्छ ।

तपाईंहरूले याद गर्नुभएको छ होला यसअघि भएको टोकियो ओलम्पिकमा मिराइटोवा आधिकारिक मस्टक बनाइएको थियो । पेरिस ओलम्पिकमा फ्रिजलाई मस्कटका रूपमा अगाडि सारिएको छ । मस्कटका रूपमा प्रायः जनावर, पशुपन्छीलाई पनि प्रयोग गरिन्छ । अझ प्रायः आयोजकको क्षेत्रमा प्रख्यात, दुर्लभ अथवा लोप हुन लागेका जनावरलाई मस्कटका रूपमा प्रयोग गर्ने प्रचलन नै बढी छ । ओलम्पिकमा मस्कटको प्रयोगले यिनीहरूको संरक्षणमा राम्रो सन्देश जान्छ । यस पटक पेरिसले भने जनावर पन्छी होइन आफ्नो परम्परागत टोपी (ह्याट) लाई मस्कटका रूपमा प्रयोग गरेको छ ।

पेरिस २०२४ का संयोजक टोनी एस्टाङ्गुएटले मस्कट अनावरणको समयमा यस पटक आफूहरूले जनावर र पन्छीको सट्टा एक आदर्शलाई मस्कटका रूपमा चयन गरेको भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले फ्रिजियन ह्याटलाई चयन ग¥यौँ किनभने फ्रान्सेली गणतन्त्रका लागि यो एक विशेष र सशक्त प्रतीक हो । फ्रान्सेली जनताका लागि यो एक प्रसिद्ध वस्तु र स्वतन्त्रताको प्रतीक हो । फ्रान्स फ्रिज ह्याटले स्वतन्त्रता, समावेशिताका साथै महान् कार्यको समर्थन गर्ने प्रतीकको प्रतिनिधित्व गर्दछ ।”

फ्रिज मस्कटलाई रातो, सेता र निलो रङले रङ्ग्याएको छ । यसको बिचमा पेरिस २०२४ को सुनौलो लोगो अङ्कित छ । यसै गरी फ्रान्सेली झन्डाको रिबन गाँठको आँखा पनि बनाइएको छ ।

यसै गरी पारालम्पिकको मस्कट फ्रिज केही फरक बनाइएको छ । सो फ्रिजमा कृत्रिम अङ्ग राखिएको छ । जुन रेसिङ ब्लेड हो । जुन फरक तारिकाले सक्षमका लागि एक आदर्श बन्ने छ । पेरिस ओलम्पिक मस्टकको एक आदर्श वाक्य पनि छ । त्यो हो– एक्लै हामी छिटो जान सक्छौँ होला तर सँगै हामी अगाडि बढ्छौँ ।

ओलम्पिक जस्ता खेल मेलामा मस्कट प्रायः आकर्षक र सन्देशमूलक बनाइएको छ । यिनीहरू आई क्याचिङ हुन्छ । मैदानमा प्रतिस्पर्धा चलिरहँदा मस्कटले दर्शकलाई मनोरञ्जन दिने छ, खेलाडीलाई फेयर प्ले खेल्न सम्झाउने छ । मस्कटले विपक्षी खेलाडीलाई सम्मान गर्न सिकाउने छ । मस्टकहरू दर्शक खेलाडीसँग जिस्किन फोटो खिचाउन असाध्यै रमाउँछन्, त्यसैले पनि बालबालिका यसप्रति धेरै आकर्षित हुन्छन् । बालबालिकालाई खेलप्रति लगाव बढाउन पनि मस्कट प्रभावकारी हुने गर्दछ ।

मस्कट फ्राइजले पेरिसमा हुने ओलम्पिकलाई सफल बनाउन ठुलो भूमिका खेल्ने पक्का छ । पेरिस ओलम्पिक सुरु भएको छैन तर पेरिस ओलम्पिकको प्रचारप्रसारमा फ्रिज विश्वभर छाइसकेको छ । मस्कट सद्भावना दूतका रूपमा पनि रहने हुनाले पनि फ्रिजको लोकप्रियता पेरिस ओलम्पिकअघि नै चुलिएको हो ।  

 साउन मुना २०८१