• १९ असार २०८१, बुधबार

‘काँग्रेस र एमाले मात्रै मुख्य शक्ति’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली राजनीतिको मुख्य केन्द्र नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेस मात्रै रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अब सहायक शक्ति भएको उहाँले दाबी गर्नुभयो ।

स्थानीय तहको निर्वाचन तथा पार्टीका पछिल्ला गतिविधिका विषयमा शुक्रबार सम्पादकहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले केही समयअघिसम्म नेपालको मूलधार राजनीतिको नेतृत्व गरिरहेको माओवादी सहायक शक्तिका रूपमा बदलिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “केही समयअघिसम्म नेपाली राजनीतिमा किङ मेकरको भूमिकामा रहनुभएका ‘प्रचण्ड’ अब प्रमुख शक्ति रहनुभएन ।” 

नेकपा (एमाले)को १०औँ महाधिवेशनले नेतामा रहेका धेरै अधिकार कार्यकर्तामा पठाएको बताउँदै उहाँले कम्युनिस्ट आन्दोलनमा यो महाधिवेशनले कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन गरेको बताउनुभयो । अहिले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन भनिए पनि त्यसो नभएर यो नेपाली काँग्रेस र नेकपा (एमाले)बीचको प्रतिस्पर्धा रहेको महासचिव पोखरेलले भन्नुभयो । पाँच दलमा रहेका अरू दल सहायक शक्ति मात्रै रहेकाले त्यसले खासै अर्थ नराख्ने बताउँदै उहाँले गठबन्धन गर्दा बहुपार्टीको अभ्यासबाट दुई पार्टीको अभ्यासमा मुलुकलाई लगेको बताउनुभयो । 

उहाँले मुख्य शक्तिबीच हुने निर्वाचनमा सहायक शक्तिहरू जोडिन आउनु नौलो विषय नभएको स्पष्ट गर्नुभयो । नेकपाको निरन्तरता नै नेकपा (एमाले) भएको भन्दै महासचिव पोखरेलले देशमा बलिया राजनीतिक शक्तिहरूको आवश्यकता रहेको भन्नुभयो । उहाँले धेरै दलको अस्तित्वमा रहँदा वैदेशिक चलखेल र अस्थिरता बढ्ने भएकाले ठूला राष्ट्रिय शक्ति भएका दलको आवश्यकता रहेको बताउनुभयो ।