• १६ भदौ २०८१, आइतबार

आर्थिक वर्ष भनेको के हो ?

blog

भाइबहिनीलाई हाम्रो दैनिक जीवनका धेरै तिथिमिति १२ महिनाको आधारमा तय हुन्छन् । देश अनुसार वर्ष सुरु हुने र अन्त्य हुने महिना पनि फरक हुन सक्छ । विक्रम संवत्को पात्रो प्रयोग गर्ने नेपालमा वैशाखबाट वर्षको सुरुवात भएर चैतमा अन्त्य हुन्छ । इस्वी संवत्को पात्रो प्रयोग गर्ने धेरै देशमा जनवरीमा वर्षको सुरुवात भएर डिसेम्बरमा अन्त्य हुन्छ । 

आर्थिक वर्ष भनेको सुन्नुभएको छ ? आर्थिक वर्षले सरकारको कारोबार वर्षलाई बुझाउँछ । सरकारले वर्षभरि गर्ने खर्च र आम्दानीको हिसाबकिताब आर्थिक वर्षका आधारमा राखिन्छ । आर्थिक वर्षलाई बजेट वर्ष भनेर बुझ्ने पनि गरिन्छ । सरकारको बजेट लागु हुने र अन्त्य हुने अवधि नै आर्थिक वर्ष हो । आर्थिक वर्षको सुरुवात पनि देश अनुसार फरक फरक हुन सक्छ । नेपालमा साउन १ गतेदेखि सुरु भएर अर्को वर्षको असार मसान्त (महिनाको अन्तिम दिन) सम्मलाई एक आर्थिक वर्ष मानिन्छ । यसको मतलब नेपालमा साउन १ गते नयाँ आर्थिक वर्षको सुरुवाती दिन हो । एक आर्थिक वर्षमा दुई वटा वर्ष (साल) छुने भएकाले आर्थिक वर्ष लेख्दा दुवै वर्ष उल्लेख गर्ने गरिन्छ । उदाहरणका लागि आर्थिक वर्ष २०८१/८२ । यसको अर्थ यो आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि सुरु भएर २०८२ असार ३१ गते अन्त्य हुन्छ । नेपालमा असार, साउन र भदौमा वर्षाका कारण आर्थिक गतिविधि खासै नहुने र ती महिनामा तयारीका काम गर्न सकिने भएकाले आर्थिक वर्ष साउनदेखि सुरु गरिएको हो । आर्थिक वर्षलाई सङ्क्षेपमा (आव) पनि भनिन्छ ।

छिमेकी देश भारतमा भने अप्रिल १ तारिखदेखि सुरु भएर अर्को वर्षको मार्च ३१ तारिखमा आर्थिक वर्ष अन्त्य हुने गर्छ । त्यसैले त्यहाँ आर्थिक वर्ष सन् २०२४/२५ भनी लेखिन्छ । कुनै कुनै देशको आर्थिक वर्ष एकै वर्षभित्र पनि हुने गर्छ । उदाहरणका लागि श्रीलङ्काको आर्थिक वर्ष जनवरीमा सुरु भएर डिसेम्बरमा अन्त्य हुन्छ । त्यसैले त्यहाँ आर्थिक वर्ष सन् २०२४ मात्र लेखिन्छ । 

आर्थिक वर्ष सुरु भएपछि सरकारको नयाँ खाता पनि सुरु हुन्छ । सरकारले गर्ने खर्च र आम्दानीको हिसाबकिताब नयाँ तरिकाबाट सुरु हुने गर्छ । सरकारले मात्र होइन, देशभर सञ्चालन हुने संस्था र कम्पनीले पनि आर्थिक वर्ष अनुसार आफ्नो हिसाबकिताब मिलाउनुपर्ने हुन्छ । कुनै पनि देशको अर्थतन्त्र कति ठुलो छ, जनता कति धनी छन्, कति उत्पादन हुन्छ, सरकारको कति आम्दानी र खर्च भयो भन्ने कुरा पनि आर्थिक वर्षकै आधारमा मापन गरिन्छ । आर्थिक वर्षकै आधारमा कुनै पनि देशले कति आर्थिक प्रगति हासिल ग¥यो भनेर तुलना गर्न सजिलो हुन्छ ।  

साउन मुना २०८१